
धार्चेका गाउँहरुमा धुमधामले मकैको बिहे, हेर्नुहोस्, कसरी भयो मकैको बिहे (फोटो फिचरसहित)
अनुपमा खनाल
एकसाता अघि नै जैसीलाई साइत हेराएर लाप्राकीले आज मकैको बिहेको तयारी गरे । आज फागुन कृष्णअष्टमी, मकैको बिहेको लगन जुरेको दिन बिहानैदेखि गाउँले चोखोनितो गरेर मकैको बिहे गर्ने तयारीमा जुटेका थिए ।
धान नफल्ने र मकै नै मुख्य अन्नबाली भएकाले उनीहरुले बिहे गरेर मात्र मकै रोप्ने गर्छन् ।
लाप्राकमा मात्र होइन, गोरखाको धार्चे गाउँपालिकामा पनि यही लगन पारेर धमाधम मकैको बिहे हुन थालेको छ ।
स्थानीयबासीका अनुसार मंगलबार धार्चे ४ लाप्राकका किसानले धुमधामसँग मकैको बिहे गरेका छन् । बिहे गरेर मकै छरेमात्रै उव्जनी हुने परम्पराअनुसार धुमधामसँग मकै बिहे गरेको स्थानीयले बताएका छन् ।
धार्चे ५ लप्सीबोट र धार्चे ७ लापुमा गत शनिबार मकैको बिहे भइसकेको छ । धार्चे ५ गुम्दा गाउँमा माघको १० गते भइसकेको स्थानीय कर्ण गुरुङले बताए । सिङ्ला, उहिया, खोर्ला, लापुमा पनि धुमधामले मकै बिहे भइसकेको उनले बताए ।

मकैको बिहे गरेपछि मात्रै पाखोबारीमा मकै छर्ने बाटो खुलेको स्थानिय मार्सिङ गुरुङले जानकारी दिए । ‘मकैको बिहे नगरी बारीमा छर्न हुँदैन’, उनले भने ‘हाम्रा पुर्खाले चलाएको चलन हो । मकैबिहे नगरी मकै छर्दा घोगामा दाना लाग्दैन । घोगा लागे पनि पुडके हुन्छ ।’ परापूर्वकालदेखि चलेको चलनलाई नयाँ पुस्ताले पनि निरन्तरता दिएको उनले बताए ।
वि.सं. १८१५ सालदेखि गाउँलेलाई अनिकालबाट जोगाउन देवी देउतालाई पुकार्दै मकै बिहे गर्ने चलन शुरु भएको उनले तर्क गरे ।

गाउँका जैसी(पुरेत)ले बिहेको साइत निकालेर परम्परागत प्रक्रिया अनुसार मकै बिहे गर्ने चलन छ । परम्परा अनुसार सोमबार दिउँसो साढे तीन बजेको साईतमा मकैको घोगा जमिनमा गाडिएको थियो । त्यो मकै बिहान साढे ८ बजे जमिनबाट निकालेर बाजागाजा सहित गाउँले जम्मा भएर गाउँ परिक्रमा गरेका थिए । ‘एउटा सानो केटालाई दुलाहा पनि बनाएर लैजान्छाँै’, स्थानीय गुरुङले भने ‘छुलेकङ्बाट दुलाहालाई डोलीमा बोकेर गाउँका सबै घरको जन्ती गयौं । गाउँको पुछार हुँदै मनिडाँडा मुनिबाट फिसीकङमा पुग्यौँ । त्यहाँ एउटी केटीलाई दुलही बनाएर राखेको थियो । अनि दुलही लिएर आयौं ।’
जन्तीको क्रममा गाउँलेले मादल, ढ्यांग्रो, झ्याली लगायतका बाजा बजाएर नाचगान गरेका थिए । छुलेकङ्बाट निस्केको जन्ती फिसीकङबाट दुलही लिएर घट्टेखोलाबाट पुरानो स्कुल हुँदै लाप्राकगाउँ घुमेर ठूलो आँगनमा पुगेपछि बिहे सकिएको स्थानीयले बताएका छन् ।

बिहे सकिएपछि साँझमा मकैको बिभिन्न परिकार बनाएर भोज खाने चलन रहेको गुरुङले बताए । ‘बिहान नै सबैको घरबाट एक÷एक घोगा मकै र पैसा उठाएका थियौं’, उनले भने, ‘गाउँलेले मिलेर त्यो मकै भुट्छन् । दुलही लिएर ठुलो आँगनमा आएपछि सबैलाई त्यो मकै खुवाउनुपर्छ ।’ मकैको बिहेमा जन्ती जानेको मुखमा धेरथोर त्यो मकै पर्नुपर्छ भन्ने मान्यता रहेको उनले बताए । भोजपछि घाटु नाच देखाउने चलन छ । उनीहरुले सामुहिक रुपमा असिना, पानी, खडेरीबाट अन्न जोगाईदिन भगवानसँग प्रार्थना गर्ने चलन छ ।
मकैबिहेका लागि जमिनमा मकै गाडेपछि नझिकेसम्म गाउँलेले जमिन नखोस्रने गुरुङले बताए ।
मकै बिहेको दिनमा गाउँमा कसैले पनि ढिकी, जाँतो, मेलापातको काम नगरी बारना गर्ने चलन रहेको उनले बताए ।




