| आइतवार, कार्तिक २९, २०८३

जिल्लाभरका सडक व्यवस्थित गर्ने निर्णय आँबुखैरेनी, गोरखा सडक क्षेत्रभित्रका घरटहरा हटाइने

आँबुखैरेनी गोरखा सडकको क्षेत्राधिकारभित्रका संरचना हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले आव्हान गरेको सरोकारवालाहरुको बैठकले बारकिलो बजारलगायतका क्षेत्रमा निर्मित अव्यवस्थित संरचना हटाउने निर्णय गरेको हो ।
२४ किलोमिटर सो सडकको क्षेत्राधिकारभित्र धमाधम नयाँ संरचना बनिरहेकाले बनेका संरचना भत्काउने र नयाँ बन्न पनि रोक्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । सो संरचना हटाउने जिम्मा दमौलीस्थित सडक डिभिजन कार्यालयले लिने निर्णय भएको प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका भण्डारीले बताए । त्यस्तै बारकिलो, छेपेटार, भालुस्वाँरा, बारपाक सडकको सुरुको चारकिलोमिटर दुरीसम्मको कालोपत्रे सडक मर्मत गर्ने पनि बैठकले निर्णय गरेको छ । सो सडक मर्मतको जिम्मा एघारकिलो छेपेटार बारपाक सडक योजना कार्यालयले लिने निर्णय पनि बैठकले गरेको भण्डारीले जानकारी दिए । ‘बाँकी चारदेखि नौ किलोमिटरसम्मको कालोपत्रे सडक पनि जीर्ण भएकाले मर्मत गर्न योजना कार्यालयले पहल गर्ने पनि निर्णय भएको छ’, भण्डारीले भने ।
त्यस्तै गोरखा आरुघाट सडकको ४२ किलोमिटरमध्य गोरखा, फिनाम खण्ड जीर्ण भएकाले सो मर्मत गर्न ११ किलो छेपेटार, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालयलाई जिम्मा दिने निर्णय भएको भण्डारीले बताए । साथै आरुघाटदेखि टारीफाँटसम्मको चार किलोमिटर खण्ड अलपत्र रहेकाले सो कालोपत्रे गर्न पनि उर्जा मन्त्रालयसंग समन्वय गरी कालोपत्रे गर्न पुष्पलाल(मध्यपहाडी) राजमार्ग आयोजना कार्यालयले जिम्मा लिने निर्णय भएको छ । बैठकमा सो आयोजना कार्यालयले यस आर्थिकबर्ष पनि टारीफाँट ओख्ले खण्ड कालोपत्रे गर्न नसक्ने जानकारी गराएको थियो । सो सडक यसअघि कालोपत्रेका लागि तयारी अबस्थामा रहेको थियो ।
बेनिघाट, आरुघाट सडकको बेनिघाटदेखि बाँधस्थलसम्मको खण्डको स्तरोन्नती गर्न एक करोड रुपियाँ बिनियोजन भएको छ । सो बजेट पर्याप्त नहुने भएकाले बजेट थप गर्न अनुरोध गर्ने निर्णय पनि भएको छ ।
आयोजनाले सामान ढुवानी गर्नुपर्ने भएकाले सो खण्ड यथासीघ्र स्तरोन्नती गर्न बुढीगण्डकी आयोजना कार्यालयले सडक बिभागसंग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।
गोरखा, आरुघाट सडकको एडीबीले जिम्मा लिएको घ्याम्पेशालसम्मको १५ किलोमिटर खण्डमा पर्ने घरटहराको मुआव्जा विषयमा विद्यमान विवाद समाधान गर्न समिति गठन भएको छ । सडकको बगुवा आसपासको खण्डमा एकातर्फको जग्गाको लगतकट्टा गरी अर्कोतर्फ सडक निर्माण भएपछि विवाद भएको थियो । समितिले अध्ययन गरी सातदिनभित्र समाधानका लागि सुझावसहितको प्रतिवेदन पेश गर्ने पनि निर्णय भएको भण्डारीले जानकारी दिए ।
गोरखा, घ्याम्पेशाल, ताकुकोट, सौरपानी सडकको घ्याम्पेशालदेखि बाँकोटसम्मको खण्ड स्तरोन्नतीका लागि जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, जिमाली)ले जिम्मा लिने निर्णय भएको छ । बाँकोटदेखि हुँडीखोलासम्म १७.९ किलोमिटर खण्ड कालोपत्रेको तयारी भइरहेको छ ।
तर घ्याम्पेशालदेखि बाँकोट सम्मको सडकको अबस्था जीर्ण रहेकलो सो निर्णय गरिएको सूचना अधिकारी भण्डारीले बताए ।बैठकमा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, सडक डिभिजन कार्यालय दमौली, पुष्पलाल(मध्यपहाडी) राजमार्ग आयोजना कार्यालय, एघारकिलो, छेपेटार, बारपाक सडक योजना कार्यालय, जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, जिमाली), डिभिजन वन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्