
ढुङ्गा, गिटी, बालुवा उत्खनन गर्न समयसीमा तोकियो
अनुपमा खनाल
गोरखामा ढुंगा, गिटी, बालुवा उत्खननका लागि समयसीमा तोकिएको छ ।
मेसिनबाट उत्खनन गर्दा निर्धारित भन्दा धेरै नदीजन्य सामग्री उत्खनन हुनसक्ने भन्दै बुधबार सम्पन्न बैठकले समयसीमा तोकेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले जानकारी दिए ।
बिबिध समसामयिक बिषयमा छलफल गर्न जिल्ला समन्वय समितिले बैठक आव्हान गरेको थियो । बिबिध बिषयमा छलफल गर्न भनेर बैठक आव्हान गरे पनि नदीजन्य सामग्रीको बिषयमा मात्र चर्काचर्की बहश भएको थियो ।
जिल्ला समन्वय समितिका अध्यक्ष अशोककुमार गुरुङको अध्यक्षतामा बुधबार भएको सरोकारवालाको बैठकले पाँच हजार घनमिटर सम्मको परिमाणको नदीजन्य पदार्थ उत्खननका लागि १० दिनको समय तोकेको छ । पाँच हजारदेखि दश हजार घनमिटरसम्मको परिमाणको उत्खननको लागि १५ दिन र दश हजार घनमिटर भन्दा बढि परिमाणको नदीजन्य पदार्थ उत्खननका लागि २० दिनको समयावधि दिईएको समन्वय समितिका प्रबक्ता मान प्रसाद धितालले जानकारी दिए । बैठकले घाटगद्धी गरेर नापजोख भएपछि मात्र ढुवानी गर्नुपर्ने निर्णय गरेको छ । आईईई प्रतिवेदन स्वीकृत भएको मापदण्ड अनुसार नदीजन्य पदार्थ उत्खनन, प्रशोधन र विक्रीवितरण गर्नको लागि भएको ठेक्कापट्टाको घाटगद्धी गर्ने स्थान र परीमाणको बारेमा साइनबोर्ड अनिबार्य राख्नु पर्ने निर्णय गरेको छ । नदीजन्य सामग्री उत्खनन र ओसारपसार सम्बन्धी काम गर्ने कामदार तथा कर्मचारीले अनिबार्य आफ्नो कम्पनीको परिचयपत्र लिनु पर्ने पनि निर्णय गरेको छ ।
स्थानीय तहहरुबाट नदीजन्य पदार्थको ठेक्कापट्टा भएको नदीजन्य पदार्थको घाटगद्धी गर्ने क्रममा उत्खनन गर्ने सवारी साधनको नंबर समेत व्यवस्था गर्न लगाउने पनि निर्णय भएको छ । साथै घाटगद्धी गरेपछि ठेकेदारले उक्त सामग्री विक्री वितरण गर्दा अनिवार्य रुपमा मिति र समय उल्लेख भएको रसिद उपलब्ध गराउनु पर्ने प्रबक्ता धितालले जानकारी दिए ।
बैठकले क्रसर फिरफिरेको अनुगमन गरी तोकिएको मापदण्ड अनुसार व्यवस्थित गर्ने पनि निर्णय गरेको छ ।
नदीजन्य सामग्रीको चोरी निकासी भएको मालसामान र सवारी साधनसँग लिएको दण्ड जरिवाना रकम जिल्ला समन्वय समिति गोरखालाई उपलब्ध गराउने पनि निर्णय भएको छ ।




