| आइतवार, कार्तिक २९, २०८३

गोरखा नगरपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण

गोरखा नगरपालिकाले किसान हरुलाई खेतबारी जोत्ने मेसिन(मिनिटिलर) वितरण गरेको छ । नगर क्षेत्रका ६ कृषक समुह र २२ ब्यबसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरिएको हो ।
गोरखा नगरपालिका कार्यालय परिसरमा कार्यक्रममा हस्तान्तरण कार्यक्रम गरी मेयर राजनराज पन्तले किसानलाई मिनिटिलर हस्तान्तरण गरे ।
सामग्री हस्तान्तरण गर्दै उनले कृषिमा आधुनिनिकरण र यान्त्रिकरणका लागि किसानलाई मिनि टिलर वितरण गरेको बताए । ‘हामी अझैपनि खेतबारी गोरुबाट जोत्दै आएका छौँ’, उनले भने ‘अब कृषिमा आधुनिकिकरण गर्न जरुरी छ । हाम्रो ठाउँमा ठुला टूयाक्टरले जोत्न सम्भव छैन । त्यसैले २८ थान मिनिटिलर वितरण गरेका छौ । यदि कोहि वास्तविक ब्यबसायिक किसान छुट्नुभएको छ भने नगरपालिकामा सम्पर्क गर्नुहोस्, हामी थप गर्न पनि सक्छौँ ।’ हरेक वडाबाट आबेदन संकलन गरी बास्तविक किसानलाई मिनि टिलर वितरण गरिएको उनले बताए । बाँझो रहेका जमिनबाट उत्पादन लिनका लागि मिनिटिलर सहयोगी हुने उपमेयर विनाकुमारी श्रेष्ठले बताईन् ।
चालु आर्थिक बर्षको कार्यक्रम अनुसार दश लाख रुपैयाँको बजेटमा मिनि टिलर खरिद गरी किसानलाई वितरण गरेको नगरपालिकाका कृषि शाखाका प्राविधिक नविन अधिकारीले जानकारी दिए । मिनिटिलरका लागि किसानले २७ हजार चार सय ७५ रुपैयाँ तिरेका छन् भने नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको जनाएको छ । मिनिटिलरबाट जोत्दा प्रतिघण्टा एकलिटर पेटूोल खर्च लाग्ने अधिकारीले बताए । एकघण्टामा एक रोपनी जोत्न सकिने उनको भनाइ छ ।
प्रयोगका क्रममा मर्मतको आबश्यकता परेमा कार्यालयमा सम्पर्क गर्न पनि नगरपालिकाले किसानलाई आग्रह गरेको छ । मिनिटिलर पाएपछि अब खेतीकिसानी गर्न सजिलो हुने वडा नं १४ का किसान राजेश विक्रम शाहले बताए ।
‘अब हलो जुवा बोकेर गोरु धपाउँदै हिड्नु परेन’, उनले भने ‘खेताला पाइएन भनेर हैरानी पनि नहुने भयो ।’ जोत्ने मेसिन भएपछि खेतबारी बाँझो नहुने भन्दै उनले खुशी व्यक्त गरे ।
टूयाक्टरले खेतबारी जोत्न पाएपछि गोरुले भन्दा छिटो पनि सजिलो पनि हुने वडा नं १० का किसान पदम बहादुर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्