| आइतवार, कार्तिक २९, २०८३

गोरखा नगरपालिकाको चौथो नगरसभा सम्पन्न स्वास्थ्य सेवा विधेयक र न्यायिक समिति ऐनको शंसोधन मस्यौदा पास ८५ करोड मध्य छ महिनाभित्र ३०.५२ प्रतिशत प्रगति

गोरखा नगरपालिकाको चौथो नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख राजनराज पन्तको अध्यक्षतामा सम्पन्न नगरसभाले स्वास्थ्य सेवा विधेयक २०७५ पारित गरेको छ । साथै न्यायिक समिति ऐन(२०७४)लाई संशोधन गरी पारित गरेको छ ।
सात वटा परिच्छेद र ४७ वटा दफा भएको स्वास्थ्य विधेयक पारित भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निश्चल अर्यालले जानकारी दिए । स्वास्थ्य सेवा ऐनमा नगरपालिकाभित्र नयाँ स्वास्थ्य संस्था दर्ता सम्बन्धी मापदण्ड तोकिएको छ । त्यस्तै नगरस्वास्थ्य समिति गठन, समितिको काम कर्तव्य र अधिकारको बारेमा उल्लेख छ । त्यस्तै करारमा स्वास्थ्यकर्मी भर्ना सम्बन्धी तथा स्थायी स्वास्थ्यकर्मीको व्यबस्थापन सम्बन्धी उल्लेख गरिएको छ । त्यस्तै हालै तयार गरिएको स्वास्थ्यसेवा ऐनमा स्वास्थ्यसंस्थाबाट उत्पादित फोहर ब्यबस्थापन सम्बन्धी बुँदाहरु रहेका अर्यालले बताए ।
त्यस्तै शुक्रबार पारित न्यायिक समिति ऐन (२०७४), संशोधन (२०७५) मा १० परिच्छेद र ९३ वटा दफाहरु रहेका छन् । ऐनमा यसअघि व्यबस्था नभएका मेलमिलापकर्ता सम्बन्धी बुँदाहरु समेटिएका छन् । मेलमिलापककर्तालाई विवाद मिलाउन बैठक बसेबापत यातायात खर्चको व्यबस्था ऐनमा उल्लेख भएको न्यायिक समितिकी संयोजक नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले जानकारी दिइन् । एउटा विवाद मिलाउन कम्तीमा तीनपटक बैठक बसेको प्रत्येक पटकको तीनसय रुपियाँका दरले यातायात खर्चको ब्यबस्था गरेको उनले बताइन् । गोरखा नगरपालिकाभित्र प्रत्येक वडाका तीनजनाका दरले ४३ जना मेलमिलापकर्ता छन् ।
साथै विवाद समाधान भएमा वादी, प्रतिवादीले बढिमा तीनहजार रुपियाँ तिर्नुपर्ने न्यायिक समिति ऐनमा उल्लेख छ । यस्तो शुल्क असहाय, अपांगको हकमा भने मिनाहा गर्ने शंसोधन गरिएको छ । त्यस्तै सुत्केरी र किरियापुत्रीले घटना भएको ३० दिनभित्र र यातायात बन्द हुँदा खुलेको साति दिनभित्र उजुरी दर्ता हुनुुपर्ने व्यबस्था गरिएको उपमेयर श्रेष्ठले बताइन् ।
नगरसभामा मेयर राजनराज पन्तले चालु आर्थिक बर्ष नगरपालिकासंग रहेको ८५ करोड ३५ लाख ७० हजार नौसय ४७ रुपियाँमध्य ३०.५२ प्रतिशत प्रगति भएको जानकारी गराएका थिए । जसमध्य चालुपुँजी ५१ करोड ४६ लाख ९४ हजार पाँचसय रुपैयाको ३९.५३ प्रतिशत खर्च भएको र विकास बजेट ३३ करोड ८८ लाख ७६ हजार ४४७ रुपैयाँको १६.८५ प्रतिशत मात्र खर्च भएको जानकारी मेयर पन्तले गराएका थिए ।
कार्यक्रममा बोल्दै मेयर पन्तले नगरपालिकाभित्र बोलिने भाषा, विद्यमान संस्कृति र ललितकला संरक्षण कार्यविधि २०७५, सार्वजनिक सम्पत्ति तथा सामुदायिक भवनको तथ्यांक अद्यावधिक सम्बन्धी कार्यविधि २०७५ पनि स्वीकृत भएको जनाएका थिए । मेयर पन्तले नगरविकास कोषसंग सहकार्य गरी वीपीचोक परिसरमा बहुउद्देश्यीय भवन निर्माण, मनकामना बहिरा विद्यालयमा भवन निर्माण गर्न लागेको पनि जानकारी गराएका थिए । त्यस्तै गर्भवती, सुत्केरी तथा हजार दिनका बालबालिकालाई पोषिलो झोला वितरण, ज्येष्ठ नागरिकलाई उपचार कार्ड वितरण, युवा स्वयंसेवक परिचालन जस्ता कार्यक्रम प्रारम्भ गरेको बताए ।
नगरपालिकाले चालु आर्थिकबर्षमा स्वीकृत तीनसय १६ योजनामध्य २८३ योजनाको सम्झौता गरेको र १०२ योजना सम्पन्न भइसकेको पनि जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्