
डन तह लगाउन मुख्यमन्त्रीको निर्देशन
किरण लोहनी :
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नयाँ ढंगले उदाएका डनहरुलाई तह लगाउन गोरखाका सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । पुरानो दादागिरीको शैलि फेरिए पनि प्रदेशभित्र बेग्लै ढंगको ‘सुरक्षा थ्रेट’ बढेको उनले बताए ।
‘सुरक्षाको थ्रेट चाहिँ अलि बेग्लै ढंगले आउन थालेको छ’, उनले भने, ‘पहिलेको डनलाईचाहिँ हामीले तह लगायौं तर सत्तासीन र प्रतिपक्षी दलका कार्यकर्ताहरु नयाँ डनको रुपमा देखिएका छन् ।’ त्यस्ता डनलाई चिन्न र तह लगाउन उनले निर्देशन दिएका हुन् । ‘हेर्दा डन पनि होइन, त्यो रुपमा चिनिएको पनि छैन तर त्यस्ता कार्यकर्ताले हामीले भनेको हुनुपर्छ, हामीलाई ठेक्का पर्नुपर्छ भन्ने गरेका छन्’ मुख्यमन्त्री गुरुङले भने, ‘यस्तो खालको दादागिरी नयाँ चुनौतीको रुपमा आएको छ, तपाईहरुको ध्यान जाओस् ।’
विभिन्न कार्यक्रममा सहभागी हुन बिहिबार गोरखा आएका मुख्यमन्त्री गुरुङले जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै सरकारको विरोध नगर्न निर्देशन दिए । ‘सरकारको आलोचना गर्नुस् तर विरोध नगर्नुस्’ उनले कार्यालय प्रमुखहरुलाई भने, ‘यो कानून पुगेन, कर्मचारी आएन, गरेका काम भएन भने यहाँनेर भएन भन्नुपर्छ तर विरोधका लागि विरोध गर्नुहुन्न’ उनले भने । आलोचना ग्रहण गर्दै काममा सुधार ल्याउन प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री गुरुङले गठन भएको एक वर्षमै सरकारको विरोध गर्नुपर्ने कारण नभएको बताए । जिल्ला समन्वय समितिको भूमिका प्रभावकारी हुन नसकेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । संविधानले प्रशस्तै अधिकार दिएको भएपनि समन्वय समितिले त्यसको प्रभावकारी कार्यान्वयन गर्न नसकेको गुरुङको भनाई छ । ‘पहिलेको जिविसको जस्तो पाइप बाँड्न पाइएन, तारजाली बाँड्न पाइएन भनेर अधिकार खोसियो भन्नु भएन’ उनले भने, ‘संविधानले प्रशस्तै अधिकारी दिएको छ, त्यसको उपयोग गर्नुपर्छ ।’ ब्यवस्था फेरिए अनुसार कर्मचारीको कार्यशैली र सोच पनि फेरिनुपर्नेमा उनको जोड छ । प्रदेश सरकारले इ(गभर्नेन्सको अवधारणा अघि सारेको भन्दै सूचना प्रविधिको प्रयोगले भ्रष्टाचार पनि कम हुने उनको दावी छ । काममा अनि यमितता गर्ने जमाना सकिएको भन्दै गुरुङले राजनीतिक दलको दवाव र प्रभावमा काम नगर्न पनि कार्यालय प्रमुखहरुलाई निर्देशन गरे । हालसम्म बैङ्क नपुगेका जिल्लाको गण्डकी र धार्चे गाऊँपालीकामा बैङ्कको सुविधा पु¥याउन पनि उनले सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । ‘म अर्को पटक आउँदा धार्चे र गण्डकीमा बैङ्कको सेवा पुगेको हुनुप¥यो, म आइनँ भने फोनबाट भएपनि खबर पाउनुप¥यो’ उनले भने ।




