
हिमपातले छेकम्पार र सामागाउँका घर, भवन भत्किए
हिमपातले चुमनुब्री गाउँपालिका १ का दोर्जे लामाको घर भत्किएको छ । मंगलबारदेखि परेको हिमपातले लामाको घर भत्किएको वडा अध्यक्ष विरबहादुर लामाले बताए ।‘ हिउँको थुप्रोले घर किचेछ’ उनले भने ‘घर भत्किएको छ ,उनको परिवार छिमेककहाँ बसेका छन् ।’सामागाउँमा अहिले पाच फिट जति हिउँ थुप्रिएको उनले बताए । ‘ शनिवारको हावा हुरीले निमा छिरीङको घरको छानो पनि उडाएको उनले जानकारी दिए । ‘घर बाहिर निस्कन सक्ने अबस्था नै छैन’ उनले भने ‘ दिउँसोबाट मौसम अलि खुलेको छ । हिउँको थुप्रोले घर छाउन सक्ने अबस्था छैन, भोली मौसम राम्रो भएमा छानो खोजेर छाउने कुरा छ ।’ हिमपात सँगैको हावाहुरीले चुमनुब्री गाउँपालिका वडा नं ७ छेकम्पारको वडा कार्यालयको छानो पनि उडाएको वडा अध्यक्ष पासाङ फुञ्जो लामाले बताए । ‘छानो पनि उडायो, छानो अड्याउन राखेको बलो पनि भत्कियो’ उनले भने ‘हिउँले वडा कार्यालय नै छोपेको छ ।’ हावाहुरीले आपे लामाको घरको छानो पनि उडाएको वडाअध्यक्ष लामाले बताए । ‘अस्तिबेलुका देखि हावाहुरी चलेको हो’ उनले भने ‘ घरका छानो र आगँनभर हिउँ जमेर बसेको छ । मौसम खुलेपछि हावाले उडाएको जस्ता खोजेर छाउनु पर्नेछ ।’ लगातारको हिमपात तथा हावाहुरीका कारण चिसो बढेसँगै स्थानिय घरबाट बाहिर निस्कन सकेका छैनन् । गोठमा रहेका चौरी र याकलाई घाँस पानी दिन पनि नसकिएको स्थानियले बताएका छन् । गोरखाको चुमनुब्री, धार्चे सहित बारपाक सुलिकोट गाउँपालिकाको विभिन्न ठाउँमा हिमपात भएको छ ।




