| आइतवार, कार्तिक २९, २०८३

नेपालको मन्त्रीमण्डल भ्रष्टहरुको क्लव : गगन थापा

गोरखा : नेपाली काङ्ग्रेसका नेता गगन थापाले वर्तमान नेपालको मन्त्रीमण्डललाई भ्रष्टहरुको क्लव भनेका छन् । नेपाली काङ्ग्रेस गोरखाले आयोजना गरेको चौथो सुशील स्मृति दिवस समारोहमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीको दायाँ, बायाँ, तल, माथि जताततै भ्रष्ट नै भ्रष्टहरु रहेको भन्दै मन्त्रीमण्डल नै भ्रष्टहरुको क्लव भएको आरोप लगाए ।
‘प्रधानमन्त्री बिहानदेखि बेलुकासम्म एउटा कुरा दोहो¥याएको दोहो¥यायै गरिरहनुहुन्छ म भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर एउटो वाक्य बोलिरहनुहुन्छ तर उहाँको दायाँ, बायाँ, तल, माथि जताततै भ्रष्टहरु नै भ्रष्टहरु छन्’, थापाले भने, ‘यो मन्त्रीमण्डल नै भ्रष्टहरुको क्लव हो । कुनचाहिँ मन्त्रालय चोखो छ ? वाइडबडी बिमान खरिद गर्दा भ्रष्टाचार, बुढीगण्डकीमा भ्रष्टाचार, मान्छे बाहिर पठाउँदा भ्रष्टाचार, मान्छे भित्र्याउँदा भ्रष्टाचार भएको छ । कुनै एउटा ठाउँ चोखो छैन तर सबलाई प्रधानमन्त्रीबाट ढाकछोप भएको छ । अनि भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने ? मैले भन्देको छु प्रधानमन्त्रीलाई अबदेखि तपाइँ ऐना नहेर्नोस् भनेर ।’ व्यक्ति लागेर नभै सिंगै पार्टी नै लागेर संस्थागत भ्रष्टाचार गरेको उनले आरोप लगाए । ‘माफियाहरुलाई, दलालहरुलाई, तस्करहरुलाई संरक्षण दिदै अहिलेसम्म नभएको ठूलो भ्रष्टाचार यो एकबर्षभित्र भएको छ’, नेता थापाले भने, ‘भ्रष्टाचारको दलदलमा देश टाट पल्टन लागिसक्यो तर प्रधानमन्त्री संसदमा आएर ढाँटेको ढाँटै गरिरहनुहुन्छ । एकपछि अर्को झुट, एकपछि अर्को झुट । कति सहने नेपाली जनताले ?’ यस्तो अबस्थामा लगानी सम्मेलनको नौटंकी गर्न लागेको भन्दै उनले विश्वास गुमाएको देशमा धोक्रोमा पैसा बोकेर कोही नआउने टिप्पणी गरे ।
वर्तमान प्रधानमन्त्री राणा कालीन प्रधानमन्त्रीभन्दा पनि अहिलेसम्मकै अभूतपूर्व शक्तिशाली र सुरक्षित भए पनि काम गर्न नसकेको भन्दै सांसद थापाले आलोचना गरे ।
शक्तिशाली बहुमतमा रहेर पनि काम नसकेको देख्दा यो बाम एकता नभएको भन्दै उनले लोभी र कायरहरुको मेलको संज्ञा दिए । ‘अहिले हाम्रो नेकपा, आदर्शसहित, सिद्धान्तसहित एक भएको भनेर जति होहल्ला गरे पनि आदर्श र सिद्धान्तसहित एक भएको केही पनि होइन । यो त केपी वली जस्ता लोभी र प्रचण्डजस्ता कायरहरुको एकता मात्र हो’, नेता थापाले भने, ‘स्थानीय निर्वाचनपछाडि केपी वलीलाई लाग्यो, मैले प्रचण्डसित तालमेल गरिन भने बहुमत ल्याउन केही सीप लाग्दैन । उता प्रचण्डलाई लाग्यो, मैले काङ्ग्रेस वा एमालेसंग तालमेल गरिन भने मेरै जमानत जफत हुनेवाला छ । त्यसैले प्रचण्डसित हात मिलाउँदा रगत लत्पतिन्छ भन्दै पन्छिने केपी र प्रचण्डको एकता भनेको केपी जस्ता लोभी र प्रचण्ड जस्ता कायरको मेल हो । सिद्धान्त, आदर्श केही पनि होइन ।’ सिद्धान्त र आदर्श नमिलेको प्रमाण अहिले भेनेजुयला विज्ञप्ति काण्डमा मच्चिरहेको उनले तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्