
पालुङ्टार स्मार्टसिटीको गुरुयोजना निर्माण अन्तिम चरणमा
अनुपमा खनाल :
गोरखाको पालुङटार नगरपालिका मा स्मार्टसिटीका लागि गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले स्मार्टसिटीको रुपमा विकास गर्न लागेको नगरपालिकामा गुरुयोजना निर्माणको करीब ७० प्रतिशत काम सकिएको मेयर दिपकबाबु कँडेलले बताए । स्मार्टसिटीका लागि तथ्यांक संकलन, सडकको नगर गुरु योजना, आईसिटी हबको डिजाईन, जिआईएस सिस्टम लगायतका काम सकिएको उनले बताए । ‘जिआई एसको काम पनि सकिएको छ’, उनले भने, ‘यसबाट पालुङटार नगरपालिकाको भुगोलमा कहाँ के छन्, घर, भवन कता छन्, सबै हेर्न मिल्छ ।’
नगर क्षेत्रमा भूउपयोग नीतिका तयार पार्नका लागि जग्गाको बर्गीकरण गर्ने तयारी पनि भैरहेको उनले जानकारी दिए । आवास क्षेत्र, खेतीयोग्य क्षेत्र, औद्योगिक क्षेत्र लगायत बिभिन्न किसिमले जग्गाको बर्गीकरण गरी भूउपयोग नीति तयार पार्ने नगरपालिकाले जनाएको छ । स्मार्टसिटी निर्माणको लागि पहिलो चरणमा १५ योजना छनौट गरी सहरी विकास मन्त्रालयमा पठाइएकोमा चार योजनाका लागि आगामी आर्थिक बर्षका लागि बजेट प्राप्त हुने जानकारी आएको मेयर कडेंलले बताए ।

नगरक्षेत्र समेट्ने गरी चक्रपथ निर्माण, वडा र नगरकेन्द्र जोड्ने सडक निर्माण, लिगलिगकोट बृहत खानेपानी आयोजना, आवासीय विद्यालय निर्माण, सूचना तथा सञ्चार प्रविधिका योजनालाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । विभिन्न पर्यटकीय क्षेत्र समेटेर एकीकरण पदमार्गका रुपमा विकास गर्ने लक्ष्य रहेको मेयर कँडेलले जानकारी दिए । कोटगढी, लिगलिगकोट, भूलभुलेखार, कालुपाँडे स्मारक लगायत पर्यटकीय स्थल जोड्ने गरी एकीकरण पदमार्ग निर्माण गर्ने योजना रहेको उनले बताए । स्मार्टसिटी अन्तरगत नै यसअघि घरधुरी संख्या, सडक, खानेपानी, शिक्षा लगायत पूर्वाधारको अवस्था, नगरबासीको आर्थिक अवस्था, रोजगारीको उपलब्धता लगायतका आधारमा सर्वेक्षण गरिएको थियो । सोही तथ्यांकका आधारमा नगरपालिकालाई स्मार्टसिटी बनाउने योजनाहरु तय गरिनेछ । नगरपालिका आफैंले पनि स्मार्टसिटी निर्माणमा सहयोग पुग्नेगरी नगर बसपार्क, नगर स्तरीय खेलकुद मैदान लगायत योजना तय गरेको छ ।

सरकारले आर्थिक बर्ष २०७३÷ ०७४ को बजेट बक्तब्य मा गोरखाको पालुङटारलाई २० बर्षमा स्मार्टसिटीका रुपमा विकास गर्ने बताएको थियो । सोही अनुसार सूचना प्रविधिमार्फत सार्वजनिक सेवामा जनताको पँहुच, स्वच्छ वातावरण र बासिन्दाको जीवनस्तर उच्च गुणस्तरीय हुने गरी पालुङटारलाई विकास गर्ने लक्ष्य लिईएको मेयर कंडेलले बताए । राष्टिूय योजना आयोगले स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थ व्यवस्था र स्मार्ट पूर्वाधार गरी चारवटा सूचकलाई स्मार्टसिटीको आधार बनाएको छ। स्मार्ट जनता भन्नाले शहरी विकासका उपलब्धीहरु उपयोग गर्दै समावेशी समाजको सिद्धान्त अनुरुप बसोबास गर्ने, सुरक्षित, सिर्जनशील, शिक्षित नागरिक भन्ने बुझिन्छ । स्मार्ट शासन भन्नाले सूचना प्रविधिका पुर्वाधारको विकास, अनलाईन प्रणालीमा आम नागरिकको सहज पहुँच जस्ता मापदण्ड रहेका छन् । स्मार्ट अर्थतन्त्र भन्नाले सामाजिक पुर्वाधार, हरित पुर्वाधार, आम्दानीका स्रोत जस्ता अर्थसँग जोडिने बिषयको सुगमतालाई संकेत गरिएको छ । यस्तै स्मार्ट पुर्वाधार भन्नाले सार्वजनिक यातायातको सहज पहुँच लगायत अत्यावश्यक पुर्वाधारको उपलब्धता लाई जनाउँछ ।




