
अस्तव्यस्त फण्डबोर्डका कार्यक्रम , पुराना कार्यक्रम सिध्याउन दोस्रो चरण सुरु
फण्डबोर्डले २०५७ सालमा ६८ लाख रुपियाँ लगानी गरेर सिरान चोक ३ हर्मीमा पामखोला खानेपानी तथा सरसफाइ योजना सुरु ग¥यो । सापकोटागाउँ, कैजेलपानी र मकुनडाँडाका दुईसय ४५ घर धुरीलाई एकघर एकधारा जोड्ने लक्ष्यका साथ योजना सुरु भएको थियो । अहिले २३ बर्ष भइसक्यो, योजना सम्पन्न भएको छैन ।
‘पाइपलाइनको मेनलाइनचाहिँ जोडिएको छ । ट्याङ्की पनि बनेको छ’ उपभोक्ता समितिका अध्यक्ष इश्वरी ढकालले भने, ‘शाखा लाइन खन्न र धारा जोड्न बाँकी छ ।’ गत भदौ महिनादेखि काम रोकिएको उनले बताए ।
पहिलो चरणको काम अलपत्र भएपछि दोस्रो चरणको काम सुरु भएको हो । पुरानो योजनामा काम गर्ने मजदुरले पाउनु पर्ने १० लाख रुपियाँ समेत नपाएको कामदारको गुनासो छ ।
सीप नेपाल नामको गैरसरकारी संस्थासंग साझेदारीमा फण्डबोर्डले सो काम गरेको हो ।
भीमसेन गाउँपालिका वडा नं. १ मसेलमा फण्डबोर्डले पातालधारा खानेपानी तथा सरसफाइ योजना सञ्चालन गरेको दुई बर्ष भयो । फण्डबोर्डको ३९ लाख र उपभोक्ता को श्रमदान गरी ५२ लाखको लागतमा आयोजना सुरु गरिएको थियो ।
तर उपभोक्ता समितिसंग कुरा नमिल्दा आयोजना अहिलेसम्म अस्तब्यस्त रहेको उपभोक्ता समितिका पूर्व सचिव उदय भट्ट बताउँछन् । अहिलेसम्म करिब ६० प्रतिशत मात्र काम सम्पन्न भएको भट्टले बताए । उपभोक्ता समिति का भट्टका अनुसार १० महिनादेखि सो आयोजनाको काम पनि ठप्प छ ।
गोरखामा पद्धति विकास सेवाकेन्द्र र सीप नेपाललाई साझेदारी संस्था बनाएर फण्डबोर्डले कार्यक्रम गरेको छ । पद्धतिसंग मिलेर आठ र सीपसंग मिलेर आठवटा कार्यक्रम सञ्चालन गरेको हो । ‘चारवटा कार्यक्रम सञ्चालित छन् । चारवटा कोही भर्खर सुरु भएका, कोही अलिअलि भएर रोकिएका छन्’ सीप नेपालका ज्ञानप्रसाद ढकालले भने ।
विश्व वैंकको सहयोगमा फण्डबोर्डले कार्यक्रम गर्ने गरेको हो । स्रोतका अनुसार फण्डबोर्डले सञ्चालन गरेको कार्यक्रम अधिकांश अलपत्र भएपछि विश्व वैंकले कार्यक्रम थप गर्न असमर्थ जनाएको छ ।
‘सुरुदेखि आठौं चरणसम्मका सबै योजनाहरु सम्पन्न भएका थिए’, गैरसरकारी संस्था महासंघ, गोरखाका अध्यक्ष सीताराम श्रेष्ठले भने, ‘नवौं र दसौं चरणका करिब पाँचसय योजनाहरु देशभरि अलपत्र नै भएपछि विश्ववैंकले प्रश्नचिन्ह खडा गरेको छ ।’
केहीबर्षदेखि फण्डबोर्डले काम अस्तव्यस्त बनाएपछि थालेका योजना पूरा गर्ने तर नयाँ कार्यक्रम दिन विश्ववैंकले आनाकानी गरि रहेको उनले बताए ।
नयाँ कार्यक्रम नभएको, पुराना कामहरु सम्पन्न गर्ने ध्याउन्नमा मात्र फण्डबोर्ड लागेको उनले बताए ।




