| आइतवार, कार्तिक २९, २०८३

धार्चे गाउँपालिकाको केन्द्र माछाखोला बजार चारबर्षदेखि विद्युतबिहिन

गोरखाको दुर्गम धार्चे गाउँपालिकाको केन्द्र माछाखोला बजार बिगत चारबर्षदेखि विद्युतबिहिन अबस्थामा छ । गाउँपालिकाको वडा नं. ५ स्थित माछाखोलामा विद्युत सेवा नहुँदा गाउँपालिका कार्यालयको काम प्रभावित भएको गाउँपालिका प्रमुख सन्तोष गुरुङ बताउँछन् ।
‘कार्यालयमा कम्प्यूटर छ, प्रिण्टर छ, फोटोकपी मेसिन छ तर विजुली नहुँदा सञ्चालन गर्न सकेका छैनौं’, अध्यक्ष गुरुङले भने, ‘गाउँ पालिकालाई प्रविधिमैत्री बनाउने, सञ्चारमैत्री बनाउने भनेर नीति तथा कार्यक्रम पास गरेका छौं । कर्मचारीहरु प्रविधिमैत्री छन् तर विजुली नहुँदा प्राविधिक सामान सञ्चालन गर्न पाइएको छैन ।’ विद्युत सेवा नहुँदा सेवाग्राही फोटो खिचाउन एक दिनको बाटो टाढा आरुघाट जानु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।
भूकम्पले स्थानीय भूत खोला लघुजलविद्युत आयोजना क्षतिग्रस्त भएपछि धार्चे गाउँपालिका वडा नं. ५ माछाखोला, लप्सीबोट र खानीवेशी गाउँ विद्युत बिहिन छन् ।
लप्सीबोटका करिब एकसय ५० घरधुरी, माछाखोलाको करिब ८० घर र खानीबेशीका करिब २० घरमा विद्युत सेवा नभएको वडा अध्यक्ष तुलबहादुर गुरुङ बताउँछन् । ‘सबै लघुजलविद्युत आयोजना भूकम्पका बेला क्षतिग्रस्त भएका थिए । अरु ठाउँको त करिब करिब बनिसके तर यहाँको बन्न सकेन’, उनले भने, ‘भूकम्पपछि आएका संघसंस्थाले घरघरमा सोलार त दिएको छ तर कहिले घाम लाग्छ, कहिले लाग्दैन । घाम नलाग्दा बत्ती बाल्न पनि पाइदैन । मोबाइल चार्ज गर्न नपाएर सञ्चार सम्पर्कसमेत बन्द हुन्छ ।’ विजुलीको अभावमा गाउँलेले धेरै सास्ती खेप्नु परेको उनको भनाइ छ ।

माछाखोला बजार मनास्लु पर्यटन पदमार्गमा पर्ने व्यापारिक केन्द्र पनि हो । तर विजुलीबत्ती नहुँदा यहाँका होटल व्यबसायी र पर्यटकहरुलेसमेत सास्ती भोग्नु परेको स्थानीय कान्छी गुरुङ बताउँछिन् । ‘माछाखोलामा धेरै पर्यटकीय होटलहरु छन् तर विजुली छैन’, उनी भन्छिन्, ‘कुनै होटल सोलारकै भरमा छन् भने कुनैले साँझ एकछिन जेनेरेटर चलाएर सेवा दिने गरेका छन् ।’ सुविधा दिएर पर्यटक आकर्षण गर्नुपर्ने बेलामा माछाखोलामा आउने पर्यटकलाई टिभी हेर्ने व्यबस्था गर्न पनि नसकिएको भन्दै उनले दुख व्यक्त गरिन् । ‘सोलारबाट मोबाइल चार्ज गर्दा मोबाइल पनि चाँडै चाँडै बिग्रिने रहेछ । गाउँलेलाई घाटैघाटा छ’, उनले भनिन् ।
बजार क्षेत्रमा धमाधम बन्दै गरेको नयाँ घरमा वेल्डिङ गर्न समस्या भएको उनको भनाइ छ । ‘माछाखोला व्यापारिक केन्द्रको रुपमा विकास भइरहेको छ’, उनी भन्छिन्, ‘तर घर बनाउनेहरुले वेल्डिङ गर्न पाएका छैनन् । काठको उद्योग, फर्निचर उद्योग चलाउन पनि पाइएका छैनन् ।’ बादल लाग्दा सञ्चार सम्पर्क नै बिच्छेद हुने उनको भनाइ छ ।

विद्युत सेवा नहुँदा लप्सीबोट गाउँ र खानीबेशीका बासिन्दा रेडियो सुन्न तथा टेलिभिजन हेर्नबाट समेत बञ्चित भएको स्थानीय बासीको छ ।
लप्सीबोटका बासिन्दाको समेत नामावली समेटेर अर्को गाउँमा विद्युत योजना आएपछि लप्सीबोटका बासिन्दा लामो समयदेखि विद्युत सेवाबाट ठगिएको गुनासो स्थानीयको छ ।

प्रतिक्रिया दिनुहोस्