| आइतवार, कार्तिक २९, २०८३

फिनल्याण्ड राजदूत इपिसेन्टर हेर्न सुटुक्क बारपाक, तीन दिन गोरखा बसेर फर्किए

तीन दिन गोरखाका बिभिन्न गाउँ घुमेर फिनल्याण्ड राजदूत पेटी एण्टिनेण्ट बुधबार साँझ काठमाडौं पिरेका छन् । पूर्वी सीमाना बेनिघाटबाट गोरखा प्रवेश गरेका उनी, युनिसेफका प्रमुख तोमो हुइजिमो लगायतको टोली इपिसेन्टर बारपाक पुगेर काठमाडौं फर्केको हो ।
फिनल्याण्ड सरकारको सहयोगमा युनिसेफ र स्थानीय साझेदार संस्थाहरुले सञ्चालन गरेको कार्यक्रमहरुको अनुगमन गर्न टोली गाउँगाउँमा पुगेको थियो । ‘सोमबार बेनिघाटबाट गोरखा पस्नुभयो । गण्डकी गाउँपालिका, सहिद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका हुदै आरुघाट गाउँपालिका ५, आरुआर्बाङको धोवीखोला खानेपानी योजना र छायाँदेवी प्राविको अनुगमन गर्नुभयो’, कोष्डर गोरखाका प्रमुख काजीराम रोकाले भने, ‘पहिलो दिन आरुघाटको बेम्बो होटलमा बास भयो ।’ दोस्रो दिन आरुआर्बाङको भूमेस्थान जलदेवी खानेपानी योजना गाउँपालिकाका प्रमुख पूर्ण दाहाल हुनै उपभोक्ता समितिका अध्यक्षलाई हस्तान्तरण कार्यक्रममा सहभागी भएका थिए ।
सो कार्यक्रम सकेर मंगलबार बिहान घ्याम्पेशाल, मसेल हुदै सिरानचोक गाउँपालिका ६ खैरेनीवनको दलितबस्तीमा खाना खान पुगेका थिए । ३३ घरधुरी दलितबस्ती रहेको खैरेनीवनमा सादा दालभात खाएर र त्यहाँ सञ्चालित खानेपानी योजना अवलोकन गरी राजदूतको टोली बारपाकको खानेपानी योजना हस्तान्तरण गर्न पुगेको थियो ।
बारपाक सुलिकोट गाउँपालिका २ मा स्वाँरा सघन गाउँ विकास केन्द्रद्वारा सञ्चालित राङरुङ खानेपानी योजना राजदूत पेटी एण्टिनेण्टले गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट हुदै उपभोक्ता समितिका अध्यक्षलाई हस्तान्तरण गरेका सो संस्थाका कार्यकारी निर्देशक सीताराम श्रेष्ठले जानकारी दिए । स्थानीयबासीसंग मिलेर राजदूत नेपाली लोकगीतमा छमछमी नाचेका उनले बताए ।
बिना जानकारी सुटुक्क इपिसेण्टर बारपाक पुगेका राजदूत एण्टिनेण्टको गाडी बारपाक पुग्नै लाग्दा डेढघण्टा हिलोमा फँसेको थियो । भर्खर पानी परेको र हिउँ परेकाले बाटो हिलो भएर गाडी फँसेपछि उनी हिडेर स्थानीय वौद्ध होटमा बास बस्नु पुगेका श्रेष्ठले बताए । ‘परिचय नदिन भनेकाले हामीले कसैलाई पनि चिनाएनौं’, श्रेष्ठले भने, ‘बुधबार बिहान बादल फाटेर झलमल्ल घाम लागेपछि टल्केको बारपाकको दृष्य देखेर उहाँ धेरै रोमाञ्चित हुनुभयो ।’ बारपाकसम्म पुग्ने सडक राम्रो भइदिए बारपाक विश्वकै सुन्दर ठाउँ हुने राजदूतले तर्क गरेका उनले बताए ।टोली बुधबार गोरखा नगरपालिकाको बारकिलो बजारमा खाना खाएर दुईबजे काठमाडौं फर्किएका छन् । टोलीमा युनिसेफका वास डिभिजन चिफ तमिज अहमद, कार्यक्रम प्रमुख कामना गुरुङलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्