| आइतवार, कार्तिक २९, २०८३

प्रदेश सरकारबाट गोरखामा २७ वटा खानेपानी योजना

शिव उप्रेतीः गण्डकी प्रदेश सरकारले गोरखामा यसबर्ष २७ वटा खानेपानी आयोजना सञ्चालन गर्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले जिल्लाका दुई नगरपालिका र नौवटा गाउँपालिकामा ती खानेपानी योजना सञ्चालन गर्न बजेट तथा कार्यक्रम छनौट गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार गोरखा नगरपालिका वडा नं. १३ मा बिचकरी खानेपानी तथा सरसफाइ योजनाका लागि बजेट बिनियोजन भएको छ । त्यस्तै सिरानचोक गाउँपालिकाको थालाजुङ खानेपानी तथा सरसफाइ योजनाका लागि २० लाख रुपियाँ बिनियोजन भएको छ । आरुघाटको थुमी खानेपानी तथा सरसफाइ योजनाका लागि ३० लाख रुपियाँ, पालुङ्टार नगरपालिका वडा नं. १ र २ को अन्नपूर्ण खोप्लाङ खानेपानी तथा सरसफाइ योजनाका लागि ३५ लाख रुपियाँ बिनियोजन भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै मन्त्रालयले धार्चे ५ को चुनखोला खानेपानी तथा सरसफाइ योजनाका लागि ८० लाख रुपियाँ बिनियोजन गरेको छ । धार्चे ७ को भीरकुना खानेपानी तथा सरसफाइ योजनाका लागि २५ लाख, धार्चे ७ को लापुबेशी खानेपानी तथा सरसफाइ योजनाका लागि ३० लाख रुपियाँ बिनियोजन भएको छ । सिरानचोक पामखोला छहरे खानेपानी तथा सरसफाइ योजनाका लागि ४० लाख, ढाँडखोला धैरेनी डाँडापोखराबेशी खानेपानी तथा सरसफाइ योजनाका लागि ३० लाख, सहिद लखन गाउँपालिका ६ को ज्यामिरस्वाँरा रानीगाउँ कागखोला लिफ्टिङ खानेपानी तथा सरसफाइ योजनाका लागि ४० लाख रुपियाँ बिनियोजन भएको छ । बारपाक सुलिकोट गाउँ पालिका २ को सुम्रीखोला होन्चु पोखरीगाउँ खानेपानी तथा सरसफाइ योजनाका लागि ३० लाख रुपियाँ, भीमसेन थापा गाउँपालिका १ निवेलमा निवेल खानेपानी तथा सरसफाइ योजनाका लागि ३० लाख, काशिगाउँ खानेपानी तथा सरसफाइ योजनाका लागि २५ लाख रुपियाँ बिनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आरुघाट गाउँपालिका १ र २ मा मान्बु वृहत खानेपानी तथा सरसफाइ योजनाका लागि ५० लाख, अलैंचेफाँट खानेपानी तथा सरसफाइ योजनाका लागि ३० लाख, आरुघाट १० को सिङखोला डाँडागाउँ वृहत लिफ्टिङ खानेपानी तथा सरसफाइ योजनाका लागि ५० लाख, आरुघाट ५ को ढाँड स्वाँरा सल्लाघारी दलितबस्ती खानेपानी तथा सरसफाइ योजनाका लागि ३० लाख, गोरखा नगरपालिका १० को जलविरे खानेपानी तथा सरसफाइ योजनाका लागि २५ लाख, पालुङ्टार नगरपालिका ७ को मस्र्याङ्दी बल्थुङ वृहत खानेपानी तथा सरसफाइ योजनाका लागि ३० लाख रुपियाँ, बिनियोजन भएको छ । त्यस्तै प्रदेश सरकारबाट भीमसेन थापा गाउँपालिकाको खान्चोक लिफ्टिङ खानेपानी तथा सरसफाइ योजनाका लागि ३० लाख, सिरानचोक गाउँपालिकाको अर्कुल खानेपानी तथा सरसफाइ योजनाका लागि ३० लाख, नयाँबजार स्यला जुङथाम खानेपानी तथा सरसफाइ योजनाका लागि ४० लाख, आरुबोटे कोप्चे खानेपानी तथा सरसफाइ योजनाका लागि ३० लाख, भीमसेन थापा गाउँपालिका १ को कैचलेखोला लिफ्टिङ खानेपानी तथा सरसफाइ योजनाका लागि ३० लाख बजेट बिनियोजन गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले आरुघाट गाउँपालिका १ को सब्चेत खानेपानी तथा सरसफाइ योजनाका लागि ४० लाख, भीमसेनथापा गाउँपालिका ३ तान्द्राङको पौवा पम्पिङ खानेपानी तथा सरसफाइ योजनाका लागि १५ लाख, चापाने, सिँगारे, डुंगा, चनौटे खानेपानी तथा सरसफाइ योजनाका लागि ५० लाख रुपियाँ बिनियोजन गरेको मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
भौतिक पूर्वाधार विकास मन्त्री बस्नेतले दुईबर्षमा गोरखामा केही गरेर देखाउने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्