| आइतवार, कार्तिक २९, २०८३

गोरखाको कागबेनी ओझेलमा

प्रवद्र्धन तथा प्रचारप्रसारको अभावमा गोरखाको धार्मिक तथा ऐतिहासिक स्थल कागबेनी पर्यटकीय क्षेत्र हुन सकेको छैन । पालुङ्टार नगरपालिका २ र सिरानचोक गाउँपालिका ४ को सीमानास्थित भुसुण्डे खोलामा पर्ने कागबेनीको पर्यटन विकास हुन सके सो क्षेत्रको चौतर्फी विकास हुने स्थानीयबासीको भनाइ छ ।
लिगलिगकोटको राजा बन्न घले मगर समुदाय दौडन सुरु गर्ने ठाउँको रुपमा इतिहासमा बर्णन गरिएको कागबेनी बारे उजागर हुन नसक्दा ओझेलमा परिरहेको स्थानीयबासीको गुनासो छ । ‘कागबेनी ऐतिहासिक स्थल पनि हो, धार्मिक स्थल पनि हो’ स्थानीय कृष्णप्रसाद पोखरेलले भने, ‘तर यसको उचित प्रचारप्रसार पनि हुन सकेको छैन । यो स्थलको पूर्वाधार विकास पनि हुनसकेको छैन ।’
रातमा सुनौलो र दिनमा कालो बन्ने कागको बासस्थान भएकाले सो ठाउँलाई कागबेनी भन्ने गरेको किंवदन्दी प्रचलित छ ।
ठूला धार्मिकस्थलमा मात्र देहत्याग गर्ने कागले यहाँ देहत्याग गरेकाले सो स्थलपनि ठूलै धार्मिक स्थल भएको पोखरेलको भनाइ छ । ‘बाल्मिकी रामायणमा पनि काग भुसुण्डेको वर्णन गरिएको छ’, पोखरेलले भने, ‘यहाँ नुहाएमा पितृ खुशी हुने धार्मिक तथा सांस्कृतिक मान्यता छ ।’ उनले सो स्थलको प्रचारप्रसार हुनुपर्ने र ज्येष्ठ नागरिक चौतारी निर्माण हुनुपर्नेमा जोड दिए । गोरखा बारपाक सडकको स्वामीफेदबाट जोर्तीचौतारा हुदै कागबेनी पुग्न सकिन्छ । यहाँको दुई ठूला ढुंगामाथि कागबेनी मन्दिर निर्माण गरिएको छ । मन्दिरलाई विकास तथा बिस्तार गर्न स्थानीय राजन पौडेलले आसपासको एकरोपनी जग्गा मन्दिरको नाममा प्रदान गरेका छन्

प्रतिक्रिया दिनुहोस्