
बारपाकमा सम्पन्न निशुल्क दन्त शिविरमा तीनसय बढीले सेवा लिए
मुटु फाउन्डेसन नेपालले गोरखा बारपाकमा आयोजना गरेको दुईदिने दन्त शिविरमा तीनसय बढीले सेवा लिएका छन् । मुटु फाउन्डेसन, मनोज एसोसिएसन फ्रान्स र ग्रेनोबल युनिभर्सिटीको आयोजना र ओम् समाज डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा बारपाक स्वास्थ्य चौकीमा भएको शिविरमा ३७७ जनाले सेवा लिएका हुन् ।
शिविरमा १४३ जनाले स्केलिङ (दाँतको सफाइ) गरेका थिए । यस्तै, दुईसय ३२ जनाको दाँत निकालेको र एकसय ७१ जनाले कुल फिलिङ (दाँत भर्ने सेवा) लिएको मुटु फाउन्डेसन नेपालको अध्यक्ष धनबहादुर गुरुङले बताए । शिविरमा डाक्टर हरिशंकर यादव र डाक्टर सुदेशा अधिकारीसहितको विषेशज्ञ टोलीले सेवा दिएको उनले जानकारी दिए ।
विशेष गरी ग्रामीण भेगका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरेर शिविर संचालन गरेको उनको भनाई छ । फाउन्डेसनले केही समयअघि मात्र सिरानचोक गाउँपालिका २, थालाजुङस्थित स्वास्थ्य चौकीमा दन्त उपचार कन्द्र स्थापना गरेको थियो । केन्द्रको औपचारिक उद्घाटन सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले गरेका थिए ।
सो दन्त उपचार केन्द्रका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु मुटु फाउन्डेसनले उपलब्ध गराएको छ । गाउँपालिकाले भने केन्द्रमा दन्त सहायक नियुक्त गरेको उल्लेख छ । साथै, त्यहाँ दन्त शिविर पनि संचालन गरेको आयोजक धनबहादुर गुरुङ बताउँछन् ।




