
निशुल्क स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिए
आरुघाट गाउँपालिका–४ आर्खेतमा शनिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । एनपिआई गोरखा हस्पिटलको प्राविधिक सहयोगमा लायन्स क्लब अफ गोरखा आर्खेत र लायन्स क्लब अफ गोरखा आरुघाट मनास्लुले आयोजना गरेको शिविरमा कुल ५ सय ८३ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
जसमध्ये ९० जनाले भिडियो एक्स–रे, ५० जनाले सुँगर जाँच, २४ जनाले मुटुको इसिजि र ५ जनाले माइनर सर्जरी सेवा लिएको लायन्स क्लब अफ गोरखा आर्खेतका चार्टर प्रेसिडेण्ड परिचित अधिकारीले बताए । शिविरमा स्वास्थ्य सेवा लिएकाहरुलाई आवश्यकता अनुसार औषधी पनि निशुल्क वितरण गरिएको उनले जानकारी दिए ।
शिविरमा एनपिआई हस्पिटलका बरिष्ठ फिजिसियन डा. तारानाथ शर्मा, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा. परमेश्वर पौडेल, प्रसूती तथा स्त्री रोग बिशेषज्ञ डा. राशिक न्यौपाने, जनरल तथा ल्याप्रोस्कोपीक सर्जन डा. पवन सापकोटा उपाध्याय, नवजात शिशु तथा बालरोग बिशेषज्ञ डा. नारायण महतो, रेडियोलोजिष्ट डा. पुकार लामिछाने लगायतको चिकित्सक टोलिले स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा निशुल्क आँखा जाँच पनि गरिएको थियो । गोरखा आँखा सेवा केन्द्रको प्राविधिक सहयोगमा कुल १ सय ७५ जनाको आँखा जाँच गरिएको बताइएको छ । आँखा रोग बिशेषज्ञ डा. खुमप्रसाद पराजुलीले आँखा जाँच गरेका थिए ।




