
बोर्लाङमा भीमसेन थापाको शालिक स्थापना
गोरखाको भीमसेनथापा गाउँपालिका–८ स्थित बोर्लाङको चण्डीथोकमा भीमसेन थापाको शालिक स्थापना गरिएको छ । राष्ट्रिय विभूति थापाको जन्मस्थानलाई ऐतिहासिक स्थलका र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न शालिक स्थापना गरी पार्क निर्माण कार्य अघि बढाइएको स्थानीयबासी तथा पूर्व वडा अध्यक्ष बासु थापाले बताए ।
भीमसेन थापा जन्मिएको स्थानलाई ऐतिहासिक पहिचान दिन थापाको परिवारले भीमसेनथापा स्मारक टूस्टको नाममा निशुल्क उपलब्ध गराएको एक रोपनी ६ आना जग्गामा पार्क निर्माण सुरु गरिएको उनले बताए । पर्यटकीय रुपमा पनि विकास गर्न भीमसेनथापा पदमार्गमा निर्माण भइरहेको छ । जागेश्वर महादेव टारबाट बोर्लाङका रहेको थापाको जन्मस्थान हुदै बोर्लाङकोटकाली जोड्ने गरी पदमार्ग निर्माण भइरहेको उनले जानकारी दिए ।
तीन किलोमिटर रहेको पदमार्गमा एक किलोमिटर सिँडी निर्माण गर्ने काम सम्पन्न भइसकेको उनले बताए ।
उनका अनुसार पार्क निर्माणका लागि २०७८÷०७९ मा वडाबाट १५ लाख रुपैयाँ विनियोजना भएको थियो । सो बजेटबाट पार्क भित्र प्रवेशद्वार निर्माण र थापाको शालिक राख्ने काम र सिँडी निर्माण गरिएको छ । थापाको शालिकका लागि भने २०७७÷०७८ मा नौ लाख रुपैया बजेट विनियोजन भएको उनले बताए ।
त्यस्तै, भीमसेन थापा पार्कका व्यवस्थित र फराकिलो बनाउन थप सात रोपनी क्षेत्रफल जग्गा समेटेर डिपिआर तयार भइसकेको छ । पार्कभित्रको भित्तामा नेपालको ठूला नक्सा कुद्ने, राष्टिूय विभूतिहरुको शालिक राख्ने, बालबालिकाहरुका लागि बाल उद्यान निर्माण गर्ने साथै पार्क भित्र कुर्सीहरु राख्ने र मन्दिर निर्माण गर्ने गरी डिपिआर तयार भएको उनले बताए । उक्त डिपिआर अनुसार पार्क भित्र विभिन्न पूर्वाधार निर्माणका लागि करिब दुई करोड लाग्ने अनुमान गरिएको छ । संघ, प्रदेश र पालिकाले बजेट विनियोजन भएको खण्डमा पाँच वर्षभित्रका सबै काम सक्ने लक्ष्य रहेको उनले बताए ।
भीमसेनथापा जन्मिएको स्थानमै उनको शालिक राखिएको हो । यहाँका थापा बसेको दरबार, उनले बनाइएको पानीको धारा र जागेश्वर महादेव मन्दिर भग्नावशेष अवस्थामा रहेको उनले बताए । वि.स. १९९० सालको भूकम्पले थापाले निर्माण गरेको दरबार भत्किएको थियो । उनले बाटोमा आउजाउ गर्ने बटुवाहरुलाई सहजताका लागि जर्नेल पौवा निर्माण गरेको थियो ।
अहिले त्यो स्कूलका रुपमा संचालन भइरहेको छ । भीमसेन थापाको जन्म दिन साउन ९ गतेका दिन शालिकको अनावरण गरिने उनले जानकारी दिए । राष्टूका विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरेर शालिक अनावरण गरिने उनको भनाइ छ ।




