| बुधबार, कार्तिक २७, २०७६

कनकमणि दीक्षितलाई लिली भीरबाट उठाउने यी हुन साइला लामा

 

शिव उप्रेती

गोरखा : भीर असजिलो थियो । उँधो हेर्दा छङ्गाछुर । मस्र्याङ्दी रिसाए झैं बगिरहेको थियो । चारदिनदेखि बेपत्ता भएका कनकमणि दीक्षित शिरिषको जरामा अड्किरहेका थिए । साहिँला लामाले उनको ज्यान र आफ्नो ज्यानलाई डोरीले फनफनी बाँधे । दीक्षितलाई आफ्नो ज्यानमा यसरी कसे कि अब लिलीभीरबाट खसे पनि संगसंगै, बाँचे नि संगसंगै ।

‘उहाँलाई बोकेर जुरुक्क उठ्दा मैले मेरो बुबालाई सम्झिएँ । मेरो बुबा पनि कसैले नदेख्ने भीरमा यसरी नै खसेर बित्नु भएको थियो । यदि मैले फेला पारेको भए, यसरी नै बोकेर बचाउने थिएँ’ साहिँला लामा भन्छन्, ‘आँशु बर्रर आयो । तर उहाँलाई जसरी पनि माथि बाटोमा उतार्नु थियो । मन बलियो बनाएर उक्लिएँ । मूलबाटोमा निक्लन मलाई २० मिनेट जति लाग्यो ।’

पालुङटार नगरपालिका ९ भोर्लेका लोकबहादुर लामा(साहिला लामा) चामेका साहुको भारी बोकेर बेशीसहरबाट हिडेको त्यो दोस्रो दिन थियो । मोटरबाटो थिएन । पहिलो बास उनी घट्टेखोलामा बसे । दोस्रो दिनमा घट्टेखोलामा बास्ने योजना थियो । खानीगाउँबाट चिया नास्ता खाएर उनी च्याम्चे पुग्नका लागि हिडेका थिए । बिहान ११ बजेको थियो त्यतिबेला । लिली भीरमा मान्छे हरायो भनेर खोजी भइरहेको थियो । मनमा के भाव उर्लियो कुन्नि, भारी बिसाएर उनी पनि मान्छे खोज्न भीरतिर ओर्लिए ।

कनक हराएको यो चौथो बिहान थियो । दाजु कुन्दा र गोरखा बारपाकका गाइड मदन घले उनलाई खोज्दाखोज्दा आजित भइसकेका थिए ।
लिली भीरको सबैभन्दा तल पुगेका साहिला लामाले आवाज दिए, ‘यहाँ त भेटिएन है ।’ साहिँलाको आवाज लगत्तै अझै तलबाट अर्को मान्छेको आवाज आयो । ‘हँ, हँ गरेको आवाज आयो । म फेरि कराएँ, तल मान्छेको जस्तो आवाज आएको छ है । तर माथि भएका मान्छेहरुले यो आवाज मान्छेको हो भनेर पत्याएनन्’, त्यो क्षणको स्मरण गर्दै साहिला भन्छन्, ‘यो भीरबाट धेरै मान्छे खसेर मरे । भूतप्रेत कराएको हो भनेर मान्छेहरु डराए । तर मलाई भूतप्रेतको विश्वासै लागेन । म अझै तल ओर्लिएँ । त्यहाँ एउटा मान्छे शिरिषको जरामा अड्एिको रहेछ, टुक्रुक्क बसेको जस्तो पोजिशनमा । भेटिएको त्यो मान्छेको टाउकोमा गम्भीर चोट थियो । बग्दाबग्दै रगत सुकेको थियो । रगत र पीपले शरीर गन्हाएको थियो ।’

१९ बर्षअघिको घटना हो यो । शारीरिक बनावटले पनि विदेशी जस्ता देखिने कनकमणि प्राय एक्लै भ्रमण गर्न रुचाउँथे । अक्टोबर सिजनमा अन्नपूर्ण सर्किट भ्रमणको क्रममा जोमसोम, मुक्तिनाथ हुँदै थोरङ्ला पास गरी उनी मनाङ आइपुगेका थिए । त्यसदिन स्याँगेमा बास बसेर बेशीसहरतिर झर्दै थिए ।

उनले घर छोडेको पनि धेरै नै भइसकेको थियो । मनमा घर पुग्ने केही हतारको भाव पनि पैदा भएको थियो । लिली भीरमा ठूलो झरना थियो । अगस्ट महिना, झरनाको पानीले बाटो ढाकेको थियो । छेउछेउ हुदै हिड्दै थिए, दुर्भाग्यवश उनी चिप्लिएर भीरबाट खसे ।
स्याँगेबाट हिड्दा ‘अब म बाहुनडाँडाबाट फोन गर्छु है’ भनेर घरमा खबर गरेका थिए । तर घरमा फोन नपुगेपछि उनी हराएको अनुमान भयो । खोज्नका लागि दाजु कुन्दा र मदन घले सो क्षेत्रमा पुगेका थिए । उनी कहाँ खसे, कसैले पत्ता लगाउन सकेन् । आफन्तजन र स्थानीयबासी पनि निराश थिए ।

जब साहिला लामाले उनलाई मूलबाटोमा उतारे, सबैको मुहारमा खुशी छाउने नै भयो । थोंचेको हेल्थपोष्टमा काम गर्ने स्वास्थ्यकर्मी ज्योति गुरुङ बेशीसहरबाट औषधी लिएर कार्यक्षेत्रतर्फ जाँदै थिइन् । बाटोमा घाइते देखेपछि उनले हत्तपत्त प्राथमिक उपचार गरिन् ।
कुन्दाले लामा साहिलालाई दुखको ज्याला सोधे । बुबाको घटना सम्झेर उद्धार गर्न गएका उनले पैसा लिन मानेनन् । ‘लिदै लिन्न भन्दाभन्दै दाइले खाजा खर्च भनेर मेरो गोजीमा एकहजार रुपियाँ राखिदिनुभयो’, उनी सम्झन्छन्, ‘काठमाडौं र पोखराबाट दुईवटा हेलिकोप्टर आयो । उहाँहरु सबै जानुभयो । म पनि भारी बोकेर चामेतिर लागेँ ।’ त्यसपछि के के भयो, उनलाई केही थाह छैन ।

एकबर्षपछि उनी फेरि भारी बोक्न सोही क्षेत्रमा गए । त्यहाँका एक ब्यपारीले उनलाई एउटा चिठी दिए । त्यो कनकमणिले दिएर गएको चिठी रहेछ । साहिँला लामालाई खोज्दै दीक्षित फेरि लिलीभीर पुगेका रहेछन् । गोरखाका साहिला लामा त्यता सँधै भेटिने कुरा भएन । अनि उनले केही लेखेर छाडेर गएका रहेछन् ।

चिटमा दीक्षितको घरको टेलिफोन नंबर लेखिएको थियो र छिटो सम्पर्कमा आउन भनिएको थियो । त्यतिबेला मोबाइलको चलन थिएन । बाहुनडाँडामा भीस्याट प्रविधिको फोनसेवा थियो । उनले त्यहाँबाट फोन गरे । उताबाट दीक्षितले काठमाडौं आउन भने ।

उनले गन्तब्यमा भारी बिसाए र काठमाडौं दीक्षितको सम्पर्कमा पुगे । दीक्षितले धेरै धन्यवाद दिए र उनको चाहना बुझे । ‘के चाहन्छौं भनेर सोध्नु भयो, मैले मेरो गाउँमा खानेपानी, विजुलीको समस्या छ भनेँ । हाइस्कूल छैन भनेँ । उहाँले नेवा भन्ने संस्थालाई हाम्रो गाउँमा सम्पर्क गराइदिनु भएछ होला । अहिले गाउँमा खानेपानी सेवा पुगेको छ । हाम्रो गाउँको त्रिवेणी माविमा गरिब बालबच्चालाई छात्रवृत्ति दिन आठ लाख रुपैयाँको अक्षयकोष खोलिदिनु भएको छ ।’ दीक्षित बेलाबेला पालुङ्टार नगरपालिका वडा नं. ९ भोर्लेस्थित आफ्नो गाउँमा आइरहने र गाउँलेको सुखदुखमा साथ दिइरहने उनी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्