
नयाँ बारपाकमा दङ्ग बारपाकी, धनी र गरीब घर हेरेरै छुट्टिने
करिब ११०० घरधुरी एकै ठाउँमा झुरुप्प भएको बारपाकको ‘सोर-त’ टोलको मध्यभागमा सुष्मा घलेको चिरिच्याट्ट परेको घर छ । मनपर्ने रङको टायल बिछ्याएको आँगन, पिँडी, मझेरी, भ¥याङ, घरका भित्ता र छत, आवश्यकता अनुसार तयार भएका कोठाहरु बनेका छन् ।
हालसालै निर्माण सम्पन्न भएको नयाँ घरमा सरेपछि घलेको परिबार खुशीले दङ्ग छन् । रिनधन गरेर भएपनि पक्की र सुविधासम्पन्न घर बनाएर बस्न पाएपछि सुष्माको परिबार मात्र होइन, बारपाकका बासिन्दा खुशी भएका छन् ।
पुरानो घर २०७२ साल बैशाख १२ गतेको भूकम्पले भत्काएपछि बारपाकका अधिकांशले नयाँ घर आरसीसी गरेर बनाएका छन् । करिब ६० प्रतिशत घर आरसीसी गरेर बनाइएको स्थानीय युवा जीतबहादुर घले बताउँछन् । बार पाकमा अधिकांश ब्रिटिश र भारतीय सेनामा बहालवाला र भूपूहरुको बसोबास छ । वैदेशिक रोजगारीका क्रममा राम्रा देशहरुमा जानेको संख्या पनि उत्तिकै छ । उनीहरुले रिनधन गरेर भए पनि आधुनिक सुविधा सम्पन्न घर निर्माण गरेका हुन् । ‘रिनधन त आफ्नो ठाउँमा छ । जे जसरी भए पनि बारपाकमा करोड (करोडका घरहरु बनेका छन्’, घलेले भने, ‘सबैभन्दा जीवन ठूलो भन्ने सोचेर उनीहरुले सुरक्षित पक्की घर बनाएका हुन् ।’ नयाँ घरहरुले भरिएको बारपाकको रुप फेरिएको उनी बताउँछन् । ‘चारबर्षदेखि बारपाक नदेखेकाले अहिले देखे भने यो पनि बारपाक हो र ? भनेर अचम्म मान्नुपर्ने अबस्था छ’, उनले भने, ‘पहिले साँगुरो गल्ली थियो, अहिले चोकचोकसम्म फराकिलो मोटरबाटो पुगेको छ । बडेबडेमाका रङ्गीचङ्गी घर बनेका छन् ।’ पहिलेको ढुंगाकै गाह्रो, ढुंगाकै छानोले बनेको कालो देखिने बारपाक अहिले रङ्गीन बनेको उनले बताए ।

बारपाकको स्वरुप नबिगार्न आग्रह गर्दागर्दै पनि बारपाकका केहीले भूकम्पअघि अटेरी गरी आरसीसी गरेर घर बनाएका थिए । भूकम्प जाँदा सबै घर ढले तर आरसीसी गरेर बनाइएको घर ढलेनन् । त्यसैले सबैले आरसीसी घर बनाएको स्थानीयको एक स्वर छ । ‘भूकम्प जानु भन्दा पहिला आठ दसवटा आरसीसी गरेर बनेका घरहरु थिए’, आरसीसी घर बनाइरहेका अर्का स्थानीय आशबहादुर गुरुङले भने, ‘ढुंगा माटोले बनेका सबै घर ढले तर ती घर ज्यँकात्यूँ रहे । त्यसैले गाउँलेले पुरानो शैलिको घर बनाउने भनेर नेताहरुले भनेको कुरा नटेरेर धमाधम आरसीसी घर ठड्याउन थाले ।’ राम्रो भन्दा पनि बलियो रोजेर यस्तो घर बनाएको उनको तर्क छ । ‘अरु भन्दा पनि ज्यानको मायाले पक्की घर बनाएको हो’, उनले भने ।
भूकम्पपछि गाउँमा मोटर चल्न थालेकाले पनि पक्की घर बनाउन सजिलो भएको अर्का स्थानीय सूर्य गुरुङको भनाइ छ । ‘गाउँमा मोटर नआएको भए बाध्य भएर पनि पुरानै ढाचाको घर बन्थ्यो होला’, गुरुङले भने, ‘भूकम्पपछि गाउँमा मोटरबाटो बन्यो । सिमेण्ट, रड र चाहिने सबै कुरा घरसम्मै ल्याउन सजिलो भयो । त्यसैले यस्ता पक्की घर बन्न सफल भयो ।’ नयाँ स्वरुपको बारपाक पाएपछि आफूहरु पनि खुशी, बारपाक घुम्न आउनेहरु पनि खुशी भएका उनले बताए ।

धनी र गरीब घर हेरेरे छुट्टिने
भूकम्पअघिको पुरानो बारपाकमा प्राय उत्रै र उस्तै घरहरु थिए । घर हेरेर को धनी, को गरिब छुट्याउन सकिन्नथ्यो । तर अहिले घर हेरेरै धनी बारपाकी र गरिब बारपाकी छुट्याउन सकिने स्थानीय जीत घलेले जानकारी दिए । ‘पहिले उस्तैउस्तै घर हुन्थे । को धनी, को गरिब भन्ने कुरा घर हेरेर छुट्याउन सकिदैनथ्यो’, उनले भने, ‘तर अहिले त्यस्तो छैन । ६० प्रतिशत घर आरसिसी बिल्डिङ छ । ४० प्रतिशत भूकम्पको अनुदानले जेनतेन बनेका छन् । अब त जो सुकैले पनि धनी बारपाकी र गरिब बारपाकी भनेर सजिलैसंग चिन्न सकिन्छ ।’
भूकम्पको केन्द्रविन्दू बारपाकमा अहिलेसम्म ८९ प्रतिशत पुनर्निर्माण भइसकेको बारपाकमा खटिएका इञ्जिनियर महेन्द्र शाहीले जानकारी दिए । भूकम्पले भत्किएका एकहजार तीनसय ४५ घरधुरीमध्य एकहजार एकसय ९१ जनाले तेस्रो किस्ता लगेका उनले बताए ।




