
५२ बर्षपछि परिबारसंग भेटघाट, परस्पर चिन्न मुस्किल
घर छोडेर लामो समय बेखबर भएकाहरु नफर्केका दुखद घटना धेरै छन् । यदाकदा फर्केर आएका सुखद घटना पनि समाजमा छन् ।
घर छोडेर लामोसमयसम्म परिबारको सम्पर्कमा नरहेका अजीरकोट गाउँपालिका ३ लप्सीबोटका वेदनाथ अधिकारी अधिकारी ५२ बर्षपछि घर फर्केका छन् । २४ बर्षको जवान हुँदा काम खोज्दै इण्डिया पसेका उनी ७५ बर्षको बुढो उमेरमा फर्केका हुन् ।
स्कूल पढ्दा शिक्षकको कुटाइ खाँदाखाँदा आजित भएर उनी गैराबारी जेठोको साथमा मुग्लान पसेका थिए । उनीहरु काम खोज्दै भारतको सिक्किम पुगेका थिए । ठेकेदारले ठगेर मनग्य पैसा कमाउन नसकेपछि घर फर्कन नसकेर परदेशिएका थिए ।
पछि भारतीय नागरिकता बनाई उतै घरबार जोडेर बसे । बास्तविक नामले सिक्किममा पहिचान नपाउने भएपछि नाम परिवर्तन गरी उनले शेरबहादुर क्षेत्री बनाए । सोही नाममा नागरिकता बनाए । घर जग्गा जोडे । जात मिल्दो बाहुनीसंग बिहे गरे । अहिले उनको एक छोरा र दुई छोरी छन् ।
अहिले उनी ठ्याम्मै कान नसुन्ने भएका छन् । लेखपढ पनि नभएका, कान पनि नसुन्ने अबस्थाका उनी जति समय बित्दै गयो, जन्मथलो फर्कन चाहेर पनि नसक्ने भए ।
रामेछाप घर भई सिक्किममा संगै बस्ने कामीसिँह तामाङले उनलाई लप्सीबोट ल्याइपु¥याए । ६७ बर्षका कामीसिँह पनि ४८ बर्षदेखि जन्मथलो फर्केका छैनन् । साथीलाई जन्मथलो पु¥याएर आफ्नो जन्मथलो जाने योजनामा रहेको उनी बताउँछन् ।
अधिकारीलाई आफ्नो ठेगानाको बारेमा गोरखा र भच्चेकको नाम मात्र हेक्का थियो । कामीसिँहले दुई दिन खर्चेर काठमाडौंको गोँगबु बसपार्कबाट भच्चेक जाने बस काउण्टर फेला पारे । उनीहरु भच्चेक जाने चढेर बुधबार लप्सीबोट पुगे । अहिले उनलाई घरपरिबार, आफन्तजन, छरछिमेकसंग भेटघाट र चिनजान गर्न भ्याइनभ्याइ छ ।
आश मारिसकेका ठूलाघरका कैलो फर्केर गाउँमा आएको खबरले समकालीन बुढाबुढी पनि आश्चर्य चकित भएका उनका भाइ यदु अधिकारी बताउँछन् । एकदिन जन्म थलो घुमे । २०७२ सालको भूकम्पले पुरानो गाउँ, पुराना घरहरु भत्काएर नयाँ बनाइदिएको थियो । उनले सानो छँदा घाँस काटेको पहरे ढुंगा वन, पानी ओसार्ने नम्कीको धारो, गीर खेल्ने गरेको काउलेको गरा सबैतिर चाहारे ।
उनलाई सिक्किम लैजाने गैराबारी जेठो भने अहिले साथमा छैनन् । उनी कहाँ पुगे भन्ने बारे न गाउँलेले जानेका छन्, न उनले ।
अधिकारी फर्केर आउँदा माहिला भाइको निधन भइसकेको थियो । साइँला भाइ यदु अधिकारीलाई भेट्न उनी शुक्रबार गोरखा बजार पुगे । साहिँला भाइ गोरखा क्याम्पसमा पढाउँछन् ।
फोनैफोनको भरमा उनीहरुको भेट त भयो, तर दुवैले चिनेनन् । एक आपसमा हेराहेर भयो । साहिली औलो देखेपछि भाइ यदुले दाइलाई चिने । ‘२४ बर्षको हुँदा हामीलाई छोडेर जानुभएको अहिले ७५ बर्षको बुढो भएपछि आइपुग्नु भयो, कसरी चिन्नु ?’ अधिकारीले भने, ‘आमाले ठूलेको साहिँली औंलो घाँस काट्दा काटिएर बाङ्एिको छ भन्नुहुन्थ्यो । त्यही औंलो देखेपछि मैले ठम्याएको हुँ ।’ लामो समयपछि दाइलाई भेट्दा धेरै खुशी लागेको उनले बताए ।
अधिकारीले दाइलाई ९४ बर्षकी आमासंग भेटघाट गराउन चितवन लिएर गएका छन् । ‘आमाले ठूलोछोरोको अहिलेसम्म पनि चिन्ता गरिरहनुहुन्छ’, अधिकारीले भने, ‘त्यसैले दाइलाई आमासंग भेट गराउन लगेको छु ।’ बुढेसकालमा जेठो छोरोलाई भेट्दा आमा पक्कै पनि खुशी हुने उनले बताए ।




