
नारायण रायमाझीको सदाबहार संगीतले गुञ्जियो दशैंमेला
शिव उप्रेती:
गोरखा च्याम्बर अफ कमर्शले आयोजना गरेको दशैँ मेलाको सातौं दिनको साँझ सदाबहार लोकगायक नारायण रायमाझीको गीतले सुरम्य बन्यो । मेला महोत्सवमा आक्कलझुक्कल मात्र सहभागी हुने रायमाझी गोरखामा पहिलो पटक आएका हुन् । उनले छ वटा गीत गाएर मेला भर्न आएकालाई मनोरञ्जन दिलाएका थिए ।
रायमाझीले दशैं मेलामा पछिल्लो लोकप्रिय गीत बोलमायाबाट सन्ध्या जगाएका थिए । दशैंको परिवेश झल्कने नमुछे आमा दहीमा टिका, नछरे जमरा गीतले उनले दशैंको माहोले तताए । त्यस्तै कालो बादल नीलो आँखामा, हाँसेर बोलिदेऊ माया, सान्नानीले झुक्यायो मलाई, लाइछेउ बेसन लगायतको गीत गाएर दर्शकलाई नचाएका थिए ।
कार्यक्रममा समकालीन लोकगायक प्रजापति पराजुली तथा युवालोक गायक पृथ्वी गुरुङले पनि गीत प्रस्तुत गरेका थिए । रायमाझीले २०३८ सालदेखि नेपाली लोक गीतको खाल जमाएका थिए । दशैं मेलाको अवसर पारेर गोरखा आएका लोक तथा दोहोरी गायक नारायण रायमाझी र प्रजापति पराजुलीलाई अभिनन्दन गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाले कलाकारद्वयलाई प्रतिष्ठान, गोरखा शाखाका अध्यक्ष मिना गुरुङ र उपाध्यक्ष नारायण दानीले दोसल्ला ओढाएर र प्रसंसापत्र प्रदान गरी अभिनन्दन गरेको प्रतिष्ठानका सचिव गणेश श्रेष्ठले जानकारी दिए । दशैंका बेला सुपथ मूल्यमा सामान बिक्री वितरण गर्ने उद्देश्यले च्याम्बरले गरेको दशैं सस्तो मेला ३० गतेसम्म चल्ने छ । यसैबिच, गोरखामा कृष्णमान श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय राष्ट्रिय लोकभजन चुडका संरक्षण प्रतिष्ठानको तदर्थ समिति गठन गरिएको छ । प्रतिष्ठानका केन्द्रिय अध्यक्ष प्रजापती पराजुलीको उपस्थितीमा समिति गठन गरिएको हो । समितिको सह संयोजकमा विद्याकुमार अर्याल र सानुमायाँ खड्का, सचिवमा चुडामणी न्यौपाने, कोषाध्यक्षमा इन्द्रराज ढकाल रहेका छन् ।




