
गुरुङ चलचित्र फुङका लागि प्रदर्शनको स्वीकृति
दरौंदी समाचारदाता :
उत्तरी गोरखामा बोलिने गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र फुङले प्रदर्शनको स्वीकृति पाएको छ । केन्द्रीय चलचित्र जाँच समितिले आइतबार फुङलाई देशभर चलाउनका लागि स्वीकृति दिएको हो ।
उत्तरी गोरखा तमु समाजको सहकार्यमा बेब्स क्रियशनले उत्तरी गोरखाको गुरुङ भाषा सस्कृतिमा आधारित गुरुङ भाषाको फिल्म फुङ निर्माण गरेको थियो ।
निर्माण सम्पन्न भएर प्रदर्शनको तयारीमा रहेको सो चलचित्र घले समाज(लिःल फङ)ले आफ्नो भाषालाई गुरुङ भनिएको भन्दै समितिमा उजुरी गरेपछि रोकिएको थियो ।
‘तीन महिना लामो अबरोधपछि आज बल्ल स्वीकृति पाइयो’, चलचित्रका निर्माता तथा कलाकार आइतराम गुरुङले भने, ‘अब दशैंतिहार लागिहाल्यो । तिहारलगत्तै प्रदर्शन गर्नेछौं ।’
प्रितम गुरुङको निर्देशनमा निर्मित चलचित्र फुङमा उत्तरी गोरखाकै स्थानीय कलाकारहरु आइतराम गुरुङ, बुध गुरुङ, मिरा गुरुङ, सुमन गुरुङ, सलिना गुरुङलगायतको अभिनय रहेको छ ।
उत्तरी गोरखामा विद्यमान चिबम (इनगेजमेन्ट) सस्कृतिको सेरोफेरोमा कथा आधारित रहेको गुरुङले बताए ।




