| बुधबार, असार ९, २०८३

दशैंमेलाको तयारी पूरा

दरौंदी समाचारदाता :
गोरखा सदरमुकाममा आउँदो शनिवारदेखि आयोजना हुन लागेको दशै सस्तो बजार एवं सडक मेलाको तयारी सकिएको छ । आयोजक गोरखा चेम्बर अफ कमर्सले मेलाको तयारी सकिएको जानकारी दिएको हो ।
आउँदो शनिवार हरमटारीको खेलकुद मैदानमा नेकपामा अध्यक्ष पुष्पकमल दाहालले मेलाको उद्घाटन गर्ने गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले बताए । ‘हामी मेलाको अन्तिम तयारीमा जुटेका छौ’ उनले भने ‘मेलाको प्रचारप्रसार, पत्राचार, स्टल निर्माण, बाल उद्यानका सामाग्रीको ब्यबस्थापन, उद्घाटन समारोहको तयारी लगायतको काम भैरहेको छ ।’ स्थानीय उत्पादन र ब्यबसायको प्रबद्र्धन गर्ने उदेश्यले गर्न लागिएको मेलामा एक सय ३० स्टल रहनेछन् । तीमध्ये ३० स्टलसँग शुल्क नलिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘कृषि र पशुसँग सम्बन्धीत स्टलसँग हामी पैसा लिदैनौ’ उनले भने ‘अरु सय स्टलमा ५० स्टल जिल्लाबासीको रहनेछ, अरु स्टलमा बाहिरका ब्यबसायी आउने भएका छन् ।’ मेलामा धार्चे र चुमनुब्री गाउँ पालिकाको उत्पादनलाई प्राथमिक ता दिईएको छ । सो क्षेत्रका च्याङग्रा, सिलाम, आलु , जडिबुटी लगायतका उत्पादन मेलामा प्रदर्शनी तथा बिक्रीका लागि राखिने भएको छ । यस्तै, स्थानीय स्तरमा आरनबाट बनाएको हतियार, ढाकाको कपडा, हस्तकलाका सामग्री, नेपाली मोडलको जुत्ता चप्पल, अल्लोका कपडा, भान्साका सामाग्री, बुटिकका कपडाहरु, चिनिया सामाग्रीहरु पनि स्टलमा राखिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । मेलामा नेपाल दुग्ध विकास संस्थानबाट उत्पादित दुग्धजन्य पदार्थ पनि रहने आयोजकले जनाएको छ । मेला अबधिभर नयाँ बसपार्कदेखि प्रतिक्षालयसम्म सडक मेला लाग्ने भएको छ । हरेक दिन विहान ९ बजेदेखि २ बजेसम्म सडक मेला लागेको क्षेत्रको टोल टोलमा सांस्कृतिक कार्यक्रम हुने र २ बजेपछि खेलकुद मैदानमा मञ्चको कार्यक्रम हुने भएको छ । मेलामा मनोरन्जनका लागि गोर्खाली कलाकारलाई प्राथमिकता दिईएको उनले बताए । ‘गोरखा घर भई अन्यत्र रहनुभएका कलाकारलाई हामीले बोलाएका छौं’ अध्यक्ष श्रेष्ठले भने ‘गोरखाका साथै राष्ट्रिय स्तरका अन्य कलाकार पनि आउनुहुनेछ ।’ पशुपति शर्मा, रञ्जित परियार, सुनिला गुरुङ, चिजा तामाङ, शीला गुरुङ, प्रजापति पराजुली, राजा राजेन्द्र लगायतका कलाकारको प्रस्तुती रहने पत्रकार सम्मेलनमा जान कारी दिईएको छ । दशैँलाई लक्ष्यित गर्दै साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड मार्फत बजारमा सस्तो मुल्यमा नुन र चिनीको करीब १२ पसल राखिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । मेलास्थलमा नवदुर्गा पुजाको ब्यबस्था पनि गरिने भएको छ । करीब ६ करोड रुपैयाको कारोबार गर्ने लक्ष्य सहित हुन लागेको मेलामा ४० देखि ६० हजार दर्शकले अबलोकन गर्ने आयोजक को अनुमान छ । मेलामा प्रबेश निशुल्क हुनेछ ।

प्रतिक्रिया दिनुहोस्