| शनिबार, असार १२, २०८३

महेन्द्र मावि कुन्दुरलाई विद्यार्थीबाहक बस हस्तान्तरण

गोरखा नगरपालिका–१२ कुन्दुरटारस्थित महेन्द्र माध्यमिक विद्यालयलाई विद्यार्थीबाहक बस हस्तान्तरण गरिएको छ । कल्स ओवर रिजेज नेपाल र गोरखा नगरपालिकाको साझेदारीमा खरिद गरिएको उक्त बस बिहिबार विद्यालयलाई हस्तान्तरण गरिएको हो । संस्थाकी प्रमुख कार्यकारी निर्देशक साङ डोमा शेर्पाले एक कार्यक्रमका बीच उक्त बसको चावी विद्यालयलाई हस्तान्तरण गरेकी हुन् ।

कल्स ओवर रिजेज नेपालको ३० लाख, गोरखा नगरपालिकाको १० लाख र विद्यालयको ९ लाख गरी जम्मा ४९ लाखमा बस खरिद भएको विद्यालयका शिक्षक राजकुमार राईले बताए । विद्यालयको आफ्नौ विद्यार्थीबाहक बस भएपछि टाढाबाट आउने विद्यार्थीहरुलाई आवतजावतमा सहजता हुने उनले जानकारी दिए । विशेषगरी छेवेटार, बाह्रकिलो, तेह्रकिलो, खत्रीटार लगायतका ठाउँहरुबाट आउने विद्यार्थीहरुलाई सहज हुने राईले जनाए ।

‘बर्खा पनि लाग्दै छ, विद्यार्थीहरुलाई दैनिक ३–४ किलोमिटर पैदल आउन समस्या हुन्थ्यो । भनेको बेला बस पाइन्नथ्यो’, शिक्षक राईले भने, ‘विद्यालयको आफ्नै बस भएपछि विद्यार्थीहरुको यी समस्या समाधन हुनेभयो । साथै, अतिरिक्त कक्षा संचालन गर्न पनि समस्या भएन ।’ विद्यार्थीबाहक बस आएपछि विद्यालयको शैक्षिक गुणस्तर पनि बृद्धि हुने भन्दै उनले खुशी व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिका मेयर कृष्णबहादुर रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख मसलीमाया थोकर, संस्थाकी प्रमुख कार्यकारी शेर्पा, विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्