
द्रव्यशाहमा जलवायु परिवर्तन र दिगो वन तथा कृषि व्यवस्थापन विषयक कार्यशाला
द्रव्यशाह बहुमुखी क्याम्पसमा जलवायु परिर्वतन र दिगो वन तथा कृषि व्यवस्थापन विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । क्याम्पसको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत शनिबार कार्यशाला गोष्ठी सम्पन्न गरेको सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद पराजुलीले बताए ।
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा स्थानीय समुदायका सदस्यहरुलाई जलवायु परिर्वतनको बारेमा सचेत गराइएको उनले जानकारी दिए । उनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य बढ्दो जलवायु परिवर्तनको प्रभाव, न्युनिकरणको उपाय लगायतको बारेमा समुदायस्तरमा सचेतना फैलाउनु हो ।
‘जलवायु परिवर्तनले हाम्रो समुदाय प्रत्यक्ष रुपमा जोडिने कृषि तथा वन क्षेत्रमा कस्तो प्रभाव पारेको छ भन्नेबारे कार्यक्रममा छलफल भएको थियो’, उनले भने । कार्यक्रमका सहभागीहरुलाई स्थानीय टक्सारटारी सामुदायिक वन उपभोक्ता समितिमा लगेर वन डढेलो नियन्त्रण सम्बन्धी प्रयोगात्मक अभ्यासमा समेत सहभागी गराइएको पराजुलीको भनाइ छ ।
डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले र कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख कुलप्रसाद तिवारीले क्रमश वन तथा कृषि क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव र न्युनिकरणका उपायको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
द्रव्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एकदेव अधिकारीको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।




