
चुमनुब्रीका करिब १ हजार ५ सय विधार्थीलाई शैक्षिक सामाग्री वितरण
गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकाका करिब १ हजार ५ सय विधार्थीलाई सम्भव नेपालले न्यानो कपडासहित शैक्षिक सामाग्री सहयोग गरेको छ । हिमालपारीको पालिका भनेर चिनिने चुमनुब्रीका ७ वटै वडाका २२ विद्यालयमा अध्ययनरत सबै विधार्थीलाई सम्भव नेपालले न्यानो कपडा र शैक्षिक सामाग्री उपलब्ध गराएको हो ।
पर्यटन व्यवसायी समेत रहेका सो संस्थाका अध्यक्ष प्रेम कुमार खत्रीले चुमनुब्री गाउँपालिकाभित्र सञ्चालित सबै विधालयमा अध्ययनरत विधार्थीलाई ट्राकसुट, टोपी, जुत्ता, २ जोर मोजा, टिसर्ट, झोला तथा ३ बर्षलाई पुग्ने होमवर्क डायरी सहयोग गरेका हुन् । सो सामाग्री अध्यक्ष खत्रीले चुमनुब्रीका बिभिन्न विधालयमा पुगेर विधार्थीलाई वितरण गरेका छन् ।
पालिकाभर रहेका २२ विधालयमध्ये बुद्ध माध्यमिक विद्यालय, नुब्री आधारभुत विद्यालय र ल्हो पेमा सम्भवा माध्यमिक विद्यालयमा पुगेर उनले सो सामाग्री हस्तान्तरण गरेको सम्भव नेपालका ब्यवस्थापक उत्तम अधिकारीले बताए । फिलिम स्थित बुद्ध माविमा आयोजित हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले विधार्थीलाई चिसोबाट बचाउन आफुले सानो प्रयास गरेको बताए ।
‘जाडो दिनदिनै बढ्दै छ, त्यसो त चुमनुब्री सधै चिसै हुने ठाउँ नै हो, यहाँका स्कुले बालबालिकालाई चिसोबाट बचाउन मैले सानो प्रयास मात्रै गरेको हुँ’ खत्रीले भने ‘म याँही आरुघाटको स्थानीय, यहाँको समाज र समुदायप्रति मैले आफ्नो सामाजिक दायित्व पूरा गरेको मात्रै हुँ ।’ सम्बोधनका क्रममा उनले भूकम्प तथा कोरोना महामारीमा समेत आफू राहात लिएर चुमनुब्री आएको स्मरण गरेका थिए ।
चार बर्षअघि समेत चुमनुब्रीसहितका बिधार्थीलाई यस्तै प्रकारको न्यानो कपडासहितको उपहार दिएका उनले अब हरेक ३र३ बर्षमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । नेपाली काँग्नेसका महासमिति सदस्य समेत रहेका उनले यसअघि चुमनुब्रीसहित जिल्लाभरका पालिका र वडालाई गरी १३ वडा एम्बुलेन्स, विधालयहरुमा शैक्षिक सामाग्री, युवा क्लबहरुलाई खेलकुद सामाग्री, महिला समुहलाई आवस्यक सामाग्री, विधालयमा होस्टल निर्माण, विपन्नका लागि आवास निर्माण, स्वास्थ्य चौकीहरुका लागि आवस्यक सामाग्रीहरु सहयोग गर्दै आएका छन् । साथै उनले आगामी दिनमा कृषि क्षेत्रमा समेत सहयोग गर्ने योजना रहेको बताएका छन् ।




