
बालिका शिक्षा सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया
पालुङटार ८ स्थित अकला माध्यमिक विद्यालय धुँवाकोटमा बालिका शिक्षा कार्यक्रम अन्तर्गत सरोकारवालाहरुसँगको अन्तरक्रिया सम्पन्न भएको छ ।
बुधबार रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग पालुङटार नगरपालिकाको समन्वय र एकिकरण नेपाल गोरखाको व्यवस्थापनमा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा एकिकरण नेपाल गोरखाका बालिका शिक्षा कार्यक्रम अधिकृत उमेश विश्वकर्माले शैक्षिक सत्र २)८१ मा भएका गतिविधि र उपलब्धी तथा ८२ मा हुने क्रियाकलापहरूको बारेमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बालिका शिक्षा कार्यक्रममा सहभागी बालिकाले आफूमा जीवन उपयोगी सिपले बोल्ने बानीको विकास भएको आत्मबल बढेको, समयतालिका निर्माण गरेर पढ्ने, जानेका कुरा सिकाउने र नजाने कुराहरु एक अर्कासँग सिक्ने बानीको विकास भएको बताइन् ।
उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी शिक्षक, स्थानीय जनप्रतिनिधि, अभिभावक लगायतले कार्यक्रम राम्रो रहेको र निरन्तरतासँगै अरु बालक तथा बालिकालाई पनि समावेश गर्न सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रअ राजन भट्टराईले कार्यक्रम प्रभावकारी भएको र बालिकाहरुमा साँच्चै नै देखिने गरी परिवर्तन आएको साथै बालिका शिक्षा कार्यक्रमले बालिकाहरूमा आत्मविश्वास बढेको, पढाइमा सुधार आएको, कक्षामा बालिकाहरूको नियमितता बढेकोले आगामि दिनमा पनि सहयोग र सहकार्य गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा रूम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत सुष्मा राईले सरोकारवालाहरूको जिज्ञासालाई सम्बोधन गर्दै विद्यालय र स्थानीय सरकारसँगको साझेदारीमा बाल क्लव तथा शिक्षकमार्फत जीवन उपयोगी सीप शिक्षालाई अगाडी बढाउन सकिने जसका लागि स्थानीय सरकार र विद्यालयको मुख्य भूमिका रहने बताइन् ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष होपबहादुर नेपालीले कार्यक्रम एकदम प्रभावकारी भएको र यसलाई निरन्तरता दिन स्थानीय सरकारले सकेको सहयोग गर्ने र आगामी दिनमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै गुणस्तरीय शिक्षा र वार्षिक परीक्षामा उतीर्ण दरमा सुधार ल्याउन विद्यालय लागि पर्नुपर्ने कुरामा समेत जोड दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष क्षेत्रजंग भण्डारीको अध्यक्षतामा सम्पन्न भएको सो अन्तरक्रिया शिक्षक अभिभावक संघको संयोजक, प्रहरी चौकी धुँवाकोटका इन्चार्ज, स्वास्थ्य चौकीका प्रतिनिधि, वडा सदस्य, एवम् बाल क्लबका पदाधिकारी, अभिभावक तथा अन्य शिक्षककोे उपस्थिति रहेको उक्त विद्यालयमा कार्यरत बालिका शिक्षा कार्यक्रमका सामाजिक परिचालक याङ ढोका गुरुङले जानकारी गराइन् ।




