
शिक्षक संघ गोरखाको २४ औं प्रतिनिधि सभा सम्पन्न
शिक्षक संघ गोरखाको २४ औं प्रतिनिधि सभा सम्पन्न भएको छ । जिल्ला संघ र अजिरकोट गाउँपालिका शिक्षक संघ इकाईको संयुक्त आयोजनामा प्रतिनिधिसभा समारोह सम्पन्न भएको हो । कार्यक्रम अन्तरगत अजिरकोट गाउँपालिका स्थानीय समितिको छैटौं प्रतिनिधि सभा समेत सम्पन्न गरिएको संघका निवर्तमान जिल्ला अध्यक्ष शिव थापाले बताए ।
कार्यक्रममा शिक्षक संघ गोरखाका सचिव निरबहादुर खड्काले प्रगति प्रतिवेदन, अर्थ सचिव अर्जुनबाबु श्रेष्ठले आयव्याय प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन पारित गर्दै संगठनिक गतिविधिलाई बलियो बनाउने गरी काम गर्नेे निर्णय भएको उनले बताए ।
शिक्षक संघ गोरखाका अध्यक्ष लक्ष्मण आर्चायको अध्यक्षता तथा शिक्षक संघ गण्डकी प्रदेशकी उपाध्यक्ष सगुना ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष सर्मिला ढकाल, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, ट्रेड युनियन कांग्रेस गोरखाका अध्यक्ष शिव बहादुर थापा, अजिरकोट गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष जंग बहादुर गुरुङ, वडा नं. ५ का विर्खबहादुर गुरुङ, संघका पूर्व अध्यक्ष एवं अजीरकोट ३ का पूर्व वडाध्यक्ष तयराज गुरुङलगायतले मन्तव्य राखेका थिए ।




