
जेष्ठ नागरिक संघद्धारा गोरखा नगरपालिकाभित्र पुस्ता हस्तान्तरण कार्यक्रम
नयाँ पुस्ताले पुराना पुस्ताको ज्ञान, सिप, कला हाँसिल गर्न नसकेको, पहिलेका परम्परा, रीतिरिवाज लोप हुँदै गरेको सन्दर्भमा गोरखामा भने पुस्ता हस्तान्तरण कार्यक्रम गरिएको छ । जेष्ठ नागरिक र युवाहरुका बीचमा अन्तक्र्रिया एवं पुस्ता हस्तान्तरण कार्यक्रम गरिएको हो ।
गोरखा नगरपालिका भित्रका दुई विद्यालयमा उक्त कार्यक्रम गरिएको जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले बताए । ‘गोरखा नगरपालिका वडा नं ८ को सरस्वती मावि, आहाले र गोनपा–१३ को रामशाह मावि देउरालीको विलर्थीहरुलाई कार्यक्रममा सहभागि गरायौँ’, उनले भने, ‘हामीले जानेका ज्ञान सिप, बिभिन्न घरायसी कुराहरुका बारेमा अहिलेको पुस्तालाई बताउने गरी कार्यक्रम गरिएको हो ।’ बैशाख २८ गते सरस्वती माविमा र शुक्रबार रामशाह माविमा कार्यक्रम गरिएको उनले जानकारी दिए ।
पुस्ता हस्तानतरण कार्यक्रमको अवसरमा संघले ६ जना जेष्ठ नागरिकहरुलाई नगद र प्रमाणपत्र सहित सम्मान समेत गरेको छ । यस्तै कार्यक्रममा सहभागि विद्यालयका विद्यार्थीहरुलाई नगद रु दुई सयका दरले वितरण समेत गरेको संघले जनाएको छ । कार्यक्रममा दुवै विद्यालयबाट १००–१०० जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए । कार्यक्रम जेष्ठ नगारिक जिल्ला संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो ।




