
थप ६९ विद्यालयमा साक्षरता कार्यक्रम विस्तार हुदैं
गोरखाको थप ६९ वटा विद्यालयमा साक्षरता कार्यक्रम विस्तार हुने भएको छ । एकिकरण नेपाल गोरखाको व्यवस्थापन तथा रुम टु रिडको प्राविधिक सहयोगमा साक्षरता कार्यक्रम संचालन हुदै आएको छ । शैक्षिक सत्र २०८२ देखि जिल्लाको चार पालिकाका ६९ विद्यालयमा कार्यक्रम विस्तार गर्न लागिएको एकिकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।
अजिरकोट, बारपाक सुलिकोट, शहिद लखन र आरुघाट गाँउपालिकाका विद्यालयहरुमा कार्यक्रम विस्तार हुने उनले जानकारी दिए । जसमा पालिकाको पनि लागत सहभागिता हुने छ । पालिकाको नेतृत्व र लगानीमा साक्षरता कार्यक्रम विस्तार ढाँचा अगाडी बढेको हो ।
सोही अनुरुप एकिकरण नेपाल र रुम टु रिडले रोस्टर शिक्षकहरुलाई तालिम, फर्निचरको निर्देशिका, कक्षाकोठामा प्रयोग हुने अभ्यास पुस्तिकाको डिजिटल कपी, पुस्तकालय किताबहरु लगायत प्राविधिक सहयोग गर्ने कार्यकारी निर्देशक देवकोटाले जानकारी दिए ।
उनका अनुसार संस्थाले पालिकासंगको साझेदारीमा कक्षाकोठा व्यवस्थापन, भाषा शिक्षकहरुलाई तालिम, पुस्तकालय व्यवस्थापन र कक्षाकोठा नियमित रुपमा अनुगमनमा सहयोग गरिरहेको छ । हाल जिल्लाका १ सय ४५ वटा विद्यालयमा साक्षरता कार्यक्रम संचालन भइरहेको छ । बिद्यालय संख्या थप भएसँगै अब २ सय १९ विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन हुने बताइएको छ ।




