
रत्नलक्ष्मी माविले मनायो ६२ औँ वार्षिकउत्सव
गोरखा नगरपालिका–८ स्थित रत्नलक्ष्मी मावि डुम्रीडाँडाले विविध कार्यक्रम गरी ६२ औँ वार्षिकउत्सव एवं अभिभावक दिवस मनाएको छ । दुई दिवसीय कार्यक्रम गरी विद्यालयले वार्षिक उत्सव मनाएको हो । आईतबार खेलकुद र सोमबार औपचारिक कार्यक्रम गरेर दिवस मनाएको विद्यालयकी प्रध्यानध्यापक सजिना भट्टले बताइन् ।
‘विद्यालयको सहयोगी दातृ संस्थाहरुलाई सम्मान कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र साँझ दिप प्रज्वलन कार्यक्रम गरेर वार्षिकउत्सव एवं अभिभावक दिवस कार्यक्रम मनायौँ’, उनले भनिन् । दिवसको अवसरमा विद्यालयले शिक्षक किरण सापकोटालाई उत्कृष्ट शिक्षकका रुपमा सम्मान समेत गरेको उनले जानकारी दइन् । कार्यक्रममा प्रअ सजिना भट्टले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् ।
विद्यालयको व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षता एवं गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, गोनपा–८ का वडाअध्यक्ष ऋषिराम खत्री, विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्षहरु, पूर्व प्रअहरु, विद्यालयका सल्लाहकार, शिक्षक, अभिभावक, विद्यार्थी लगायतले सहभागिता जनाएका थिए ।




