| आइतवार, अशोज १०, २०८३

दुल्लभ माविमा ‘बाल साहित्य महोत्सव प्लस’ सम्पन्न

भिमसेनथापा गाउँपालिका १ घ्याम्पेशालस्थित दुल्लभ माविमा एक दिने बाल साहित्य महोत्सव प्लस सम्पन्न भएको छ । विद्यालयको आयोजना र रातो बङ्गला स्कुल काठमाडौँको समन्वयमा आइतबार उक्त महोत्सव सम्पन्न भएको हो ।

विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण बाबु आचार्यले बताए । विषेशगरी आधारभूत तहका विद्यार्थीहरुलाई लक्षित गरेर बाल साहित्य महोत्सव प्लस कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । कार्यक्रमको अवसरमा विभिन्न आठ ओटा स्टलहरु राखी विषयत शैक्षिक सामाग्रीहरु प्रदर्शनी गरिएको उनले बताए ।

‘विषयगत शिक्षकहरुको सहयोगमा उक्त सामाग्रीहरु तयार पारी प्रदर्शन गरिएको थियो’, उनले भने, ‘साथै, विद्यार्थीहरुद्वारा गुन्द्रीको तान लगाइएको थियो, खाजाका रुपमा विद्यार्थीहरुले नै हाँडीमा भुटेको मकै तयार पारेका थिए, परम्परागत घरायसी भाँडाकुँडाहरु पनि प्रदर्शन गरिएको थियो ।’ गाउँपालिका भित्रका २० विद्यालयहरुको शिक्षक तथा विद्यार्थीहरुले कार्यक्रम अवलोकन गरेको उनको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन गुरुङको अध्यक्षता एवं गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्तीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी, पालिकाका सामाजिक बिकास शाखाका प्रमुख नारायण श्रेष्ठ, भिमसेनथापा–१ का वडाअध्यक्ष बिकास श्रेष्ठ, रातो बङ्गला स्कुलका प्रतिनिधिहरु मितेश महर्जन र भरत घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्