
नवज्योति माविले हर्षोल्लासका साथ मनायो स्वर्ण महोत्सव
गोरखा नगरपालिका–७ डण्डीडाँडास्थित नवज्योति माविले हर्षोल्लासका साथ स्वर्णमहोत्सव मनाएको छ । पञ्चेबाजा र धिमेबाजा सहित प्रभातफेरी कार्यक्रम गरेर तीन दिवसीय स्वर्ण महोत्सव मनाएको हो । ५० औँ वार्षिक उत्सव एवं स्वर्ण महोत्सवको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । यस्तै, उनले स्वर्ण मञ्च अनावरण र स्वर्ण स्मारिका बिमोचन पनि गरेका छन् ।

विद्यालयका संस्थापक सदस्य, जेष्ठ नागरिक एवं चन्दादाता सङ्ख नारायण श्रेष्ठ र मुख्यमन्त्री पाण्डेले संयुक्त रुपमा स्वर्ण स्मारिका बिमोचन गरेको विद्यालयले जनाएको छ । ‘बिहान पञ्चेबाजा र धिमेबाजा सहित बजार क्षेत्रमा प्रभातफेरी कार्यक्रम गरेपछि समारोहको औपचारिक उद्घाटन गरिएको हो’, विद्यालयका शिक्षक सुमन ज्ञावलीले भने ।

स्वर्ण महोत्सवको पहिलो दिन विद्यालयको पुरातात्विक सङ्ग्रहालयको पनि उद्घाटन गरिएको उनले बताए । सङ्ग्रहालयमा परम्परागत घरायसी समाग्रीहरु राखिएको उनले जानकारी दिए । यसैगरी, शैक्षिक प्रर्दशनी, अक्षयकोष छात्रवृति वितरण एवं चन्दादाता सम्मान कार्यक्रम समेत सम्पन्न भएको उनले बताएका छन् । सोमबारसम्म सञ्चालन हुने स्वर्ण महोत्सव कार्यक्रमको समापन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने उनको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षता एवं मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बासुदेव पाठक, पूर्व शिक्षक, पूर्व विद्यार्थी, अभिभावक, स्थानीय टोलबिकास संस्था लगायतले सहभागिता जनाएका थिए ।




