| आइतवार, अशोज १०, २०८३

छात्रवृत्तिका लागि सात बिद्यालयमा अक्षयकोष स्थापना

बिद्यार्थीहरुको छात्रवृत्तिका लागि गोरखा सेवा समाजले जिल्लाका बिभिन्न बिद्यालयमा अक्षयकोष स्थापना गरेको छ । सात वटा बिद्यालयमा ५० हजारका दरले अक्षयकोष स्थापना गरिएको समाजका सचिव सुरेन लामिछानेले बताए ।

अजिरकोट गाउँपालिका घ्याच्चोकको धन्सिरा मावि, गण्डकी गाउँपालिका भुम्लिचोकको तोमनडाँडा मावि, शहिद लखन गाउँपालिका नाम्जुङको जनशक्ति मावि, बारपाक सुलिकोट गाउँपालिका ताकुको अन्तरज्योती मावि, गोरखा नगरपालिका छहरेको गोरक्षनाथ वैद्धिक गुरुकुल बिद्यालय, सिरानचोक गाउँपालिका छोप्राकको मण्डली मावि र भिमसेन थापा गाउँपालिका बोर्लाङको सरस्वती माविमा अक्षयकोष स्थापना गरिएको उनले जानकारी दिए ।

‘यी मध्ये पाँच वटा बिद्यालयलाई ५० हजार नगद बराबरको चेक हस्तान्तरण ग¥यौ,’ लामिछानेले भने, ‘बाँकीमा पनि छिट्टै हस्तान्तरण गर्छाै ।’ विपन्न, जेहेन्दार र अशक्त बिद्यार्थीको छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरिएको उनले जानकारी दिए ।


समाजले गोरखा नगरपालिकाको तिनधारेस्थित जिल्लाकै पुरानो मानिने त्रिभुवन पुस्तकालयलाई पनि ५० हजार नगद सहयोग गरेको छ । समाजले यसअघि पनि बिभिन्न बिद्यालयलाई कम्प्युटर तथा बिद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्