
मनकामना बहिरा माविको रजत जयन्ती विविध कार्यक्रम गरी मनाइयो
गोरखा नगरपालिका–१० टक्सारस्थित मनकामना बहिरा आवासीय माध्यमिक बिद्यालयले रजत जयन्ती विविध कार्यक्रम गरी मनाएको छ । शनिवार एक कार्यक्रमका बीच रजत स्तम्भको अनावरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रजत जयतन्त्रको उद्घटन गरेका हुन् ।
स्थापनाको २५ बर्ष पुगेको अवसरमा विद्यालयले प्रकाशन गरेको रजत स्मारिका पनि मुख्यमन्त्री पाण्डेले बिमोचन गरेका छन् ।जयन्तीको अवसर पारेर बिद्यालयले आयोजना गरेको नगरपालिका स्तरीय छात्रा भलिवल प्रतियोगिताका बिजेता बिद्यालयलाई पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा शक्ति मावि पाटेचौर पहिलो, रामशाह मावि देउराली दोस्रो र महालक्ष्मी मावि लक्ष्मीबजार तेस्रो भएका थिए ।
उनीहरुलाई क्रमश ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कारको साथमा प्रमाणपत्र वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक बाबुराम बिकले बताए । कार्यक्रमको अवसरमा स्थापना कालदेखि बिद्यालयलाई सहयोग गर्दै आएका संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको छ । बिद्यालयले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग गर्नेहरुलाई पनि सम्मान गरिएको बताइएको छ ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष खडानन्द रेग्मीको अध्यक्षता तथा मुख्यमन्त्री पाण्डेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला न्यायाधिश, गोरखा नगरपालिकाका प्रमुख, उपप्रमुख, छिमेकी बिद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बिद्यालयका प्रअ बिकले बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।




