| सोमवार, अशोज ११, २०८३

विदेशमुखीको परिणाम गाउँका विद्यालय रित्तिदै

चाहे आरुघाट गाउँपालिका ५ आरुआर्बाङको स्थानिका माविको अबस्था होस्, वा वडा नं. ६ को अलैँचे माविको अबस्था होस्, माध्यमिक तह सञ्चालन भएका विद्यालयहरुमा पनि सयजनाभन्दा कम विद्यार्थी छन् । यो अबस्था आरुघाट गाउँपालिकाको मात्र पनि होइन । सिरानचोक गाउँपालिकाको अबस्था झन् लाजमर्दो छ ।

यहाँका ६ वटा विद्यालयमा सयभन्दा कम विद्यार्थी छन् । यो अबस्था सिरानचोक र आरुघाटको मात्र पनि होइन । जिल्लाका सबै पालिकाको अबस्था उस्तै हो । चुमनुब्री र धार्चे बाहेक सबै पालिकाका कैयौं विद्यालयमा सयभन्दा कम विद्यार्थी राखेर पनि माध्यमिक तहको विद्यालय सञ्चालन गरिरहनु परेको छ ।

यो समय प्रदत्त एक बिकराल समस्या हो । यो समस्या बिगतभन्दा पछिल्ला बर्षहरुमा झन झन बढिरहेको छ । गाउँघर सुकाएर मान्छेहरु सहर हराभरा बनाइरहेका छन् । अझै भन्नुपर्दा सहर पनि सुकाएर विदेशमा भरिँदैछन् नेपालीहरु । यसै जनसंख्या घटिरहेको छ, भएकाहरु पनि विदेशमुखी भएपछि गाउँ रित्तिने नै भए, विद्यालय सुक्ने नै भए । यो कुनै प्रधानाध्यापकको गल्ती पनि होइन, कुनै शिक्षकको गल्ती पनि होइन ।

गाउँपालिकाका अध्यक्ष वा गाउँका चल्तापुर्जा नेताको गल्ती पनि होइन । अबसरको खोजीमा गाउँबाट सहर, सहरबाट पनि विदेश जानु स्वभाविक हो । अहिले रोजगारीको अबसर धेरै भएर पनि यसो भएको हो । युवा मुख्यतः दुई कारणले विदेशिन्छन् । कोही हातमुख जोर्न धौ भएर रोजगारीको खोजीमा, कोही हालको भन्दा स्तरीय जीवन जिउने प्रलोभनमा ।

सरकार, नागरिक सबै एकजुट भए भने पहिलो कारणलाई न्यूनिकरण गर्न सकिएला, तर दोस्रो कारणलाई रोक्न सकिँदैन ।
विदेशिने बढेपछि गाउँ रित्तिने, विद्यालय रित्तिने स्वभाविक छ । तर दुखका साथ भन्नुपर्छ, विद्यार्थी संख्या कम भयो भन्दै पालिकाहरुले धमाधम गाउँका विद्यालयहरु मर्जर(खारेज पनि) गरेका छन् ।

यसो हुँदा त्यहाँ बचेखुचेका बालबालिकाहरु पनि बाहिरिन बाध्य हुनुपरेको छ । यस्तो अबस्थालाई निराकरण गर्न सबैको जुक्ति, वुद्धि, उपायको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्