
पुस्तकालय दिवसको पूर्व सन्ध्यामा गोरखा क्याम्पसमा सरसफाई कार्यक्रम सम्पन्न
१७ औँ पुस्तकालय दिवसको पूर्व सन्ध्यामा शुक्रवार गोरखा क्याम्पस गोरखामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । पुस्तकालय बिकास तथा व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा पुस्तकालय परिसरमा प्राध्यापक, कर्मचारी र विद्यार्थीले सरसफाइ गरेको हो ।
निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने मूल नाराका साथ पुस्तकालय बिकास तथा व्यवस्थापन समितिका संयोजक एवं सहायक क्याम्पस प्रमुख बासु बाबु खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख नवराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने पुस्तकालय विकास तथा व्यवस्थापन समितिका सदस्य शुसील अर्यालले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्ववियु सहायक सचिव रचन परियार, त्रि.वि प्राध्यापक संघ गोरखा क्याम्पस इकाइका सभापति रमेश अधिकारी र त्रि.वि कर्मचारी संघ गोरखा क्याम्पस इकाइका सभापति रामचन्द्र कोइरालाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, पुस्तकालय विकास तथा व्यवस्थापन समितिका सदस्य सचिव सुशिला थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने कार्यक्रममा पुस्तकालय सहायक रेनु श्रेष्ठले निर्माण गरेको गोरखा क्याम्पसको पुस्तकालयको चिनारी विषयक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।




