| मङ्लबार, अशोज १२, २०८३

कलेज पढ्न जिल्लाभित्रै अड्ने वातावरण सिर्जना गरौँ

देशका बहुसंख्यक युवा विदेशिए भन्ने समसामयिक चर्चाको विषय छ । सतही हेर्दा पढ्न तथा रोजगारीका लागि युवाहरु विदेशिएका हुन् । तर त्यत्तिका लागि मात्र विदेशिएका होइनन् । देशको राजनीतिक, सामाजिक वातावरणसंग सन्तुष्ट हुन नसकेर नयाँ पुस्ता बाहिरिएका हुन् भन्न हिच्किचाउनु पर्दैन ।

युवा बाहिरिएकामा राष्ट्रिय चिन्ता जति छ, ११ कक्षा, १२ कक्षा पढ्न जिल्ला छाडेर बाहिर जाने जिल्लास्तरीय चिन्ता उत्तिकै छ ।
गोरखामा ११, १२ मा साइन्स पढ्ने कलेज पनि छन् । प्राविधिक विषय पढ्ने कलेज पनि छन् । जिल्लामा सामान्य कित्सा(एचए), सिभिल इञ्जिनियरिङ, कम्प्युटर इञ्जिनियरिङ, पशुविज्ञान, वन विज्ञान, बाली विज्ञान, ल्याब टेक्निसियन, सर्भे इञ्जिनियरिङ जस्ता विषयमा पढाइ हुने कलेजहरु छन् ।

तर ती कलेजहरुमा विद्यार्थी संख्या ज्यादै न्यून छ । शिक्षा विकास तथा समन्वय इकाइबाट प्राप्त तथ्यांक अनुसार गतबर्ष तीनहजार आठसय ५० जना विद्यार्थी एसईई दिएर पासआउट भएका थिए । उनीहरुमध्य एकहजार आठसय २४ जना(४७.३८ प्रतिशत) मात्र जिल्लाकै कलेज भर्ना भएर पढे । बाँकी दुईहजार २५ जना(५२.६२ प्रतिशत) विद्यार्थी जिल्लाबाहिर गए ।

एसईई नजिकिएसंगै राजधानी तथा चितवनका कलेजहरुबाट प्रचार प्रसार टोली गोरखाका विद्यालय, विद्यालयहरुमा चाहारे । विद्यार्थीहरुलाई विभिन्न उपाहारहरु दिएर आफ्नो कलेजमा आउन प्रलोभन दिएर गएका छन् । तर जिल्लामा कक्षा ११, १२ सञ्चालन भएका कलेजहरु प्रचार प्रसारका लागि हिँडेनन् ।

विद्यार्थी संख्या न्यून भए पनि विद्यार्थी संख्या बढाउन प्रयत्न गरेनन् । जसका कारण पनि धेरै संख्यामा विद्यार्थीहरु जिल्ला बाहिर जाने बातावरण बन्यो । गुणस्तरीय शिक्षा दिने, व्यवस्थित पुस्तकालय, ल्याबहरु निर्माण गर्ने र जिल्लाका विद्यार्थी जिल्लामै पढ्ने वातावरण बन्यो भने जिल्लामा युवाको संख्या उल्लेख्य हुन्छ । संवृद्धिको रेखा कोर्न सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस्