
मरहट्टाको स्मृति दिवसमा विद्यार्थीलाई छात्रवृत्ति वितरण
स्वर्गीय शम्भुबाबु मरहट्टाको २८ औ स्मृति दिवसको अवसर पारेर जिल्लाका बिभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।
शम्भु स्मृति प्रतिष्ठान गोरखाले बिभिन्न विद्यालयका ६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । छात्रवृत्ति पाउनेमा अजिरकोट गाउँपालिका घ्याच्चोकस्थित धन्सिरा माविका चार जना, सिरानचोक गाउँपालिका वडा नम्वर २ स्थित सूर्याेदय प्रावि र वडा नम्वर ३ को विज्ञान प्राविका एक/एक जना विद्यार्थी रहेका छन् । उनीहरुलाई जनही आठ हजारका दरले छात्रवृत्ति रकम प्रदान गरिएको प्रतिष्ठानकी कोषाध्यक्ष तुलसा मरहट्टाले बताइन् ।
त्यस्तै धन्सिरा माविलाई ७० हजार रुपैयाँ बराबरको विज्ञान सामग्री समेत उपलब्ध गराइएको उनले जानकारी दिइन् । शनिवार एक कार्यक्रमका बीच विद्यार्थीलाई छात्रवृत्ति र विद्यालयलाई बिज्ञान सामग्री वितरण गरिएको हो ।
प्रतिष्ठानका सदस्य पुरुषोत्तम अर्यालको अध्यक्षता तथा अजिरकोट गाउँपालिका वडा नम्वर १ का अध्यक्ष मनोज गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा मण्डकी मावि छोप्राकका प्रधानाध्यापक रुद्रनाथ पोखरेल, धन्सिरा माविका प्रअ वीरबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नारायणबाबु श्रेष्ठले स्वर्गीय शम्भुबाबु मरहट्टाको जीवनी प्रस्तुत गरेका थिए ।




