| शुक्रबार, बैशाख १७, २०८३

शैक्षिक सुधारका लागि सहिदलखनमा सघन अनुगमन

धुवाँकोटको तामाखानी उत्खनन गर्न माग

गोरखाको पालुङटार नगरपालिका–८धुवाँकोटको खानीगाउँमा तामाखानी उत्खनन् गर्न स्थानीयले माग गरेका छन् । खानीको अन्वेषण गरी उत्खनन गर्न उनीहरुले माग गरेका हुन् । साविकको धुवाँकोट गाविस र अहिले पालुङटार नगरपालिका ८ खानीगाउँका दुई ठाउँ र पहारेपानी जंगलका ३ ठाउँमा खानी रहेको स्थानीयले जनाएका छन् । वडा कार्यालयको आयोजनामा खानी गाउँमा भएको पत्रकार सम्मेलनमा स्थानीयले तामाखानीको अन्वेषण र उत्खननमा सरकारले ध्यान दिनुपर्ने जोड दिए ।
करिब ८० वर्षअघिसम्म कच्चा पदार्थ निकालेर प्रशोधन गरी तामा बनाउने प्रक्रिया चल्ने गरेको स्थानीय ७६ वर्षीय धनबहादुर क्षेत्रीले जानकारी दिए । उनले भने, ‘म १०÷११ वर्षको हुँदा यता बुवासँग हिँड्थे, डढेको ठुटाहरू देखिन्थ्यो, यो के हो भनेर सोध्दा तामा पगाल्न बालेको आगोको ठुटो हो भन्नुहुन्थ्यो । यहाँबाट तामाको कच्चा पदार्थ निकालेर जातोमा पिस्ने अनि आँगोमा पगालेर तामा बनाउने गरिन्थ्यो भनेर बुवाले भन्नुभएको थियो ।’ खानीमा खोतल्दै जाँदा पानी निस्कनुका साथै पहिरोको जोखिम बढेपछि स्थानीयले तामाको कच्चापदार्थ निकाल्न बन्द गरेको उनको भनाइ छ । करिब ८० वर्षअघिसम्म तामा उत्खनन गरी स्थानीयले प्रयोग गर्दै आएका स्थानीयको दाबी छ ।
स्थानीय सिद्ध मन्दिरका पुजारीसमेत रहेका नीलबहादुर थापाले खानीबाट निकालिएको तामाले बनाएको हत्तर र ताई अझै पनि मन्दिरमा रहेको बताए । उनले भने, ‘गाईखुरका डिट्टाले यहाँको तामा निकालेका रहेछन् । सबैभन्दा पहिले निकालेको तामाबाट हत्तर र ताई बनाएर मन्दिरमा चढाएका रहेछन् । यहीको तामा लगेर उनले घर छाएको कुरो सोधीखोजी गर्दा थाहा भयो ।’ सोही खानीबाट निकालिएको तामाबाट गाउँका पञ्चैबाजा बनेको स्थानीयको भनाइ छ । तामाखानी रहेको चर्चा बेला बखत चल्ने गरे पनि थप खोज अनुसन्धान हुन नसकेपछि स्थानीयले त्यसको प्रचार–प्रसार थालेका छन् । गाउँका बूढापाकाले विभिन्न प्रमाणसहित त्यहाँ तामाखानी रहेको दाबी गरेपछि केही युवाहरू खानी रहेको भनिएको ठाउँको सुरुङभित्र प्रवेश गरेका थिए । त्यहाँभित्रको वस्तुस्थिति हेर्दा विगतमा खानी सञ्चालन गरिएको प्रस्ट हुने आधार फेला परेको सुरुङभित्र पसेर अवलोकन गरेका स्थानीय सन्तोष भण्डारीले बताए । भने, ‘६ महिनाअघि हामी सुरुङ भित्र गएका थियौं । त्यहाँ नीलो चट्टान छ । केहीभित्र गैसकेपछि अर्कै किसिमको चट्टान पनि छ, पहिरेला भन्ने डरले हामीले त्यो निकाल्न सकेनांै । त्यहाँ फुटेका हाडी, गाग्रो, बाक्साहरू भेट्यौ । दुईतिर पर्खाल लगाएको पनि भेट्यौ, यो अर्थमा त्यहाँ तामा प्रशोधन गर्न मानिसहरू बस्थे भन्ने बुझ्न सकिन्छ । त्यहाँ तामाखानी छ भन्नेमा विश्वास छ ।’ तामाखानी रहेको भनिएको ठाउँ पृथ्वी राज मार्गअन्तर्गत नयाँपुलबाट करिब ३ घण्टाको पैदल दूरीमा छ ।
खानी सञ्चालनको सम्भावना बारे थप अध्ययनका लागि सहजी करण गर्न वडाध्यक्ष शंकर कँडेलले सबैसँग आग्रह गरेका छन् । वडा अध्यक्ष कँडेलले आगामी आर्थिक वर्षको बजेटमा खानी अन्वेषणका लागि बजेट विनियोजन गर्ने जानकारी दिए । संघीय र प्रदेश सरकारलाई तामाखानीको अध्ययन तथा प्रशोधनका लागि आग्रह गर्ने पनि वडाध्यक्ष कँडेलले बताए । उनले भने, ‘भूगर्भ्विद्बाट तामाखानीको अध्ययन र अन्वेषण गरी कति प्रतिशत तामा छ, त्यो पत्ता लगाएर यसको उत्खनन तथा प्रशोधन गर्न सके पालुङटार नगरपालिका मात्र नभई सिंगो देशलाई फाइदा पुग्छ । त्यसैले हामी प्रदेश र संघीय सरकारको सहयोगमा खानीको उत्खनन गर्ने तयारी गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस्