| सोमवार, भदौ २१, २०८३

बाढीपहिरोमा घर गुमाएका गोरखाका पीडित परिवारलाई राहत वितरण

आइतबार रातीको बाढी पहिरोमा घर गुमाएका जिल्लाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङका पीडित परिबारलाई राहत वितरण गरिएको छ । स्थानीय थेराङ खोलाको बाढीले घरबासविहिन भएका विस्थापित पीडित चार घर परिबारलाई गृहमन्त्रालयले सोमबार बिहान हेलिकोप्टरमार्फत राहत पठाएको हो ।

पीडित परिबारलाई तत्कालको आवासका लागि टेन्ट, म्याट्रेस, ठूलो र सानो कम्बल, त्रिपाल, स्लिपिङ ब्याग, सिरानी, लगायतका राहत सामग्री वितरण गरिएको सो सामग्री लिएर गएका धावा ग्याल्जेन लामाले जानकारी दिए । सो राहत सामग्री रास्वपाका गाउँपालिका सभापति धावा ग्याल्जेन र अर्का नेता वाङचुक राप्तेन लामाले पीडितहरुलाई हस्तान्तरण गरेका थिए ।

साथै सोही अवसरमा नाम्ला गुम्बाका प्रमुख लामा जिग्मेले व्यवस्था गरेका ६० थान सोलार चार्जर पनि प्रदान गरिएको थियो ।
यसअघि पीडित परिवारलाई हिजै चुमनुब्री गाउँपालिका ४ को वडा कार्यालयले खाद्य सामग्री र २० हजार रुपैयाँका दरले नगद पनि उपलब्ध गराइसकेको छ ।

बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, ओर्गेन छ्योदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको थियो । साथै नाम्रुङबासीका लागि निर्माण गरिएको १०० किलोवाट र १५ किलोवाट क्षमताको थेराङखोला लघुजलविद्युत आयोजना बगाएको थियो ।
त्यस्तै मनास्लु पदमार्गअन्तर्गत सुक्समको बूढीगण्डकीमाथिको झोलुंगे पुल र थेराङखोलाको पुल पनि बगाएको थियो । पुल बगाएपछि अर्को सूचना नहुञ्जेल मनास्लु पदमार्गमा यात्रा नगर्न देशी, विदेशी पर्यटकलाई जिल्ला प्रशासन कार्यालयले सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्