| आइतवार, भदौ २०, २०८३

नाम्रुङमा पुल र जलविद्युत बगाउँदा चुमनुब्रीबासी समस्यामा, सयौँ पर्यटक अलपत्र

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत आयोजना बगाउँदा चुमनुब्रीबासी संकटमा परेका छन् । ठूलो पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिए ।

थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बूढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जंगलस्थित पुल पनि बगाएको छ । ‘बाढी पहिरोले हामीलाई संकटमा पार्यो’, उनले भने, ‘गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि लग्योे । कतै जान पनि नमिल्ने भयो ।’ साथै स्थानीयले उपभोग गर्दै आएका दुईवटा लघुजलविद्युत आयोजना पनि जगैबाट बगाएर लगेको उनले बताए । ‘एउटा भर्खर सात करोड रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएर परीक्षण प्रशारण भएको १०० किलोवाटको जलविद्युत थियो त्यो पनि लग्यो । अर्को पहिल्यैदेखि बालिरहेको २२ किलोवाटको जलविद्युत थियो त्यो पनि नामेट पारेर लग्यो ।’ आवातजावत पनि ठप्प, विद्युत पनि ठप्प हुँदा जनजीवन संकटमा पर्ने उनको भनाइ छ ।

विद्युत नहुँदा बत्ती बाल्न, सञ्चार सेवा तथा विद्युतबाट चल्ने सबै सेवा ठप्प भएको छ ।
पुल बगाएपछि भर्खर सुरु हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित भएको छ । लार्केपासका लागि गएका सयौं पर्यटक बूढीगण्डकीको पुल नहुँदा अलपत्र परेका छन् ।

पहिरोसंगै आएको पहिरोले राती स्थानीय चारजनाको घर बगाएको प्रहरीले जनाएको छ । बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘भूकम्प आएजस्तो गरी गाउँ थर्काएछ । सबै बिउँझिएछन् । अनि बाढी आएको थाहा पाएपछि भागेर ज्यान जोगाएका रहेछन्’ वडाअध्यक्ष पेमा ग्याल्बो लामाले भने, ‘नत्र सबैलाई बढारेर लैजान्थ्यो ।’

बाढी पीडित चार घरलाई तत्काल अल्पकालीन राहत दिने लामाले बताए । ‘घरको केही पनि जोगिएन त्यसैले तत्काल आज नै खाद्यान्न र लुगा कपडाका लागि २० हजार रुपैयाँका दरले राहत दिन्छौँ’, उनले भने, ‘केही दिनमा गाउँपालिकाको तर्फबाट एकलाख रुपैयाँ बराबरको राहत दिनेछौँ ।’ अन्यत्रबाट आउने राहतका लागि पनि पहल गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्