
थेराङखोलाको बाढीले उत्तरी गोरखामा चार घर र पुल बगायो
जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका वडा नं. ४ र वडा नं. २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ । गएराती तीनबजे आएको बाढीले वडा नं. ४ नाम्रुङका नुर्वु ओङ्ग्याल(नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बाढीबाट मानवीय क्षति भने नभएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । बाढी आएको बारे थाहा पाएर स्थानीयबासी भागेर ज्यान जोगाएका उहाँले बताउनुभयो ।
बाढीले सोही ठाउँको झोलुंगे पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पुल बाढीले लगेपछि मनास्लु पदयात्रामा गएका पर्यटकहरु समस्यामा पर्ने भएका छन् । तर अल्पकालीन रुपमा हिड्न मिल्ने गरी स्थानीयले केही उपाय गर्न सक्ने गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो ।
खोलाको मुहानी भेगतिर केही बेर थुनिएर लेदोसहित आएको बाढीले क्षति पु¥याएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । सो खोला बूढीगण्डकीसंग मिसिने हुँदा बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।




