| बिहिबार, जेष्ठ २०, २०८३

हात्तीको दाह्रासहित गोरखाका दुईजना पक्राउ

हात्तीको दाह्रासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार गोरखा घर भएका २६ बर्षका टेकप्रसाद गुरुङ र २० बर्षका सन्तबहादुर भुजेललाई पक्राउ गरेको हो । साथै सोही घटनामा प्रहरीले अन्य तीनजनालाई पनि पक्राउ गरेको छ । प्रहरीले तारकेश्वर नगरपालिका ९ मनमैजुका २५ वर्षका राजिव महर्जन, काठमाडौं महानगरपालिका १७ बसन्तपुर बस्ने २७ वर्षका आयुष महर्जन र टोखा नगरपालिका २ सपनतीर्थ बस्ने बैतडी घर भएका २४ वर्षका पुरन बोहरालाई पक्राउ गरेको जनाएको छ ।

मनमैजु क्षेत्रमा उनीहरुले अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसार पसार बिक्री वितरण तथा सञ्चय गरी राखेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्न प्रहरी खटिएको थियो । सोही क्रममा राजिवको घर नजिक रहेको खालि जग्गामा गाडेर राखेको अवस्थामा हात्तीको दाह्रा २ थान र उनकै घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट बरामद गरेको छ ।

पक्राउ परेकामध्ये राजिव, आयुष र टेक प्रसादलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिमको कसुरमा एवम् पुरन र सन्तबहादुरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्