
अनलाइन ठगीका आरोपी तीनै जना धरौटीमा रिहा
अनलाईन ठगी गरेको आरोपमा रौटहट प्रहरीले पक्राउ गरेका गोरखाका वडा सदस्यसहित तीनैजनालाई अदालतले धरौटीमा रिहा गरेको छ । रौतहट जिल्ला अदालतको सोमबारको थुनछेक बहशपछि उनीहरुलाई धरौटीमा रिहाको आदेश गरेको हो ।
चन्द्रनिगाहपुर २ रौतहटकी रेलीमाया थिङको जाहेरीका आधारमा प्रहरीले गोरखाको भीमसेनथापा गाउँपालिका २ का वडासदस्य लक्ष्मण लामिछाने, सिरानचोक गाउँपालिका ७ का यदु पाण्डे र भीमसेनथापा गाउँपालिका ४ की कोपिला लामिछानेलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो ।
अदालतले यदु पाण्डेलाई तीनलाख, कोपिला लामिछानेलाई एकलाख र वडा सदस्य लक्ष्मण लामिछानेलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गरेको जनाएको छ ।
गोरखाको अन्नपूर्ण सहकारीका व्यवस्थापक समेत रहेका पाण्डेमाथि भीमसेनथापा ४ का सर्वसाधारणलाई गरिमा विकास वैंक र एनआईसी एशिया वैँकमा खाता खोल्न लगाई अनलाईन ठगीको रकम अपचलन गरेको आरोप छ । लामिछानेद्वय पनि सोही घटनासंग जोडिएको आरोप छ ।




