| बुधबार, असार ९, २०८३

मनास्लु क्षेत्रमा अलपत्र परेका ११० पर्यटकको उद्धार

प्रतीक्षा आले :
मनास्लु क्षेत्रमा अलपत्र परेका ११० जना पर्यटकको उद्धार गरिएको छ । हिमपात र पहिरोका कारण बिगत पाँच दिनदेखि मनास्लु क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

पाङबारी हिमालमा पाँच दिनदेखि फँसिरहेका तीन इटालेलीमध्य एकजनाको उद्धार गरिको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुईजनाको खोजी कार्य भइरहेको छ । पाँचहजार मिटर उचाइमा अवस्थित बेसक्याम्पमा रहेका ६५ बर्षका भेल्टर परलिनोको आइतबार बिहान १० बजे हेलिकोप्टरबाट उद्धार गरिएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनको साथमा बेसक्याम्पमा रहेका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि हेलिकोप्टरबाट उद्धार गरिएको उनले जानकारी दिए ।

तर ५५०० मिटर उचाइमा अवस्थित क्याम्प १ मा रहेका दुई इटलेली आरोहीहरु भने हराइरहेका छन् । प्रहरीका अनुसार ६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटो हराइरेका छन् । दुई पटकसम्म हेलिकोप्टरबाट खोजी गर्दा पनि उनीहरु फेला नपरेका प्रहरीको भनाइ छ । उनीहरुको खोजीकार्य भइरहेको डिएसपी श्रेष्ठले बताए ।

तीन इटेलेली आरोही र तीन नेपाली सहयोगी गतहप्ताको बुधबारदेखि पाङवारी हिमालमा फँसिरहेका थिए ।

चुमनुब्री ५ बुरमा भीरबाट झरेको ढुंगाले लागेर घाइते भएका नेपाली पर्यटकको पनि आइतबार उद्धार गरिएको छ । चुमनुब्री ५ को बुरमा गत बिहिबार ढुंगा लागेर घाइते भएका मिनुइन्द्र लम्सालको शनिबार उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए ।

सिम्रिक एयरको हेलिकोप्टरबाट शनिबार तीनबजेतिर उद्धार गरिएको उनले बताए । लार्केपासका लागि गएका उनीसहित तीनजना टोली बिहिबार बिहान फर्कँदा बुरको पहिरोबाट झरेको ढुंगाले टाउकोमा लागेर गम्भीर घाइते भएका थिए ।
आइतबार मौसम खुलेपछि गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, होटल व्यवसायी उपसमिति, स्थानीय युवाहरु मिलेर बाटो खोल्ने काम गरिरहेका चुमनुब्री गाउँपालिका–१ साम्दोका पर्यटन व्यवसायी निमा दोर्जे लामाले बताए ।

सामागाउँ, साम्दोबाट ३८० जना पर्यटक लार्केपास गर्न धर्मशालातर्फ गएका छन् । साम्दोमा सयौंको संख्यामा पर्यटक आउने क्रम चलिरहेको लामाको भनाइ छ ।

गत भदौ १६ देखि कात्तिक १५ सम्म मनास्लु क्षेत्रमा ६ हजार ४१४ जना पर्यटकहरुले भ्रमण गरेका मनासलु संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्