
ल्होको पहिरोले मनास्लु पदमार्गमा पर्यटकलाई सकस
प्रसिद्ध मनास्लु पदमार्गमा भ्रमण गर्ने पर्यटकलाई ठाउँठाउँको पहिरोले सकसमा पारेको छ । केही दिनदेखिको अबिरल बर्षाले सो पदमार्गमा भ्रमण गर्ने विदेशी तथा स्वदेशी पर्यटक प्रभावित भएका हुन् ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं २ ल्होको मुख्य पदमार्गमा पहिरो जाँदा पर्यटक तथा स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।
आइतबार दिउँसो अबिरल वर्षापछि गएको पहिरोले मनास्लु पदमार्ग अन्तरगतको ल्होस्थित श्रीप ट्रेल पूर्ण रुपमा अबरुद्ध बनेको वडाअध्यक्ष मिङ्ग्युर दोर्जे लामाले जानकारी दिए ।
पहिरोका कारण मनास्लु क्षेत्र घुम्न आएका पर्यटक स्थानीयहरुले सास्ती खेप्नु परेको वडाअध्यक्ष मिङ्ग्युर दोर्जे लामाले बताए । ‘माथिबाट लेदोसहितको पहिरो खसेको छ, विदेशी पर्यटक र स्थानीयहरु जोखिमपूर्वक पहिरोमाथि माथि हिँड्न बाध्य छन्’, उनले भने, गाउँपालिकासँग समन्वय गरेर छिटोभन्दा छिटो पहिरो हटाउने प्रयास गरिरहेका छौँ ।’ ल्होको श्रीप ट्रे«लमा गत वर्षपनि पहिरो खसेको वडाअध्यक्ष लामाको भनाइ छ ।
उनी भन्छन्, ‘पोहोर बस्तीसमेत जोखिममा परेको थियो, यसपटक बस्तीचाहिँ जोखिम छैन तर, पहिरो भने ठूलो गएको छ ।’




