
माहिलीको मायाले लापु गाउँमा डोहोर्यायो फ्रान्सेली नागरिकलाई
माहिलीको मायाले लापुप्रति आकर्षित डाक्टर थेइरी र सो संस्थाका सक्रिय सदस्यहरु बेरोनिक लाङ्गेन्बर्ग, डोम्युनिक वाह्लेन र प्याटिूक वाह्लेन प्रत्येक बर्ष लापु पुग्छन् । केहीदिन गाउँमै बस्छन्, गाउँ लेसंग रमाउँछन् । गाउँले सबैको साथ मा डोको बोकेर प्लास्टिक तथा अन्य फोहर टिपेर सरसफाइ अभियान चलाउँछन् । गाउँमा केही परिवर्तन आएको छ कि छैन अध्ययन गर्छन् र आवश्यक सहयोग गर्ने गरेका छन् । ‘लापुको कालरात्री माविमा तीनकोठे विद्यालय भवन बनाएका थिए । भूकम्पले भत्कियो । फेरि बनाइदिए’, माहिली नेपालका प्रतिनिधि लापुका स्थानीय गणेश गुरुङ भन्छन्, ‘गाउँको करिब तीनसय घरका लागि खानेपानी योजना निर्माण गरिरहेका छन् । सबै घरमा सौचालय निर्माण गरिदिए ।’ सो विद्यालयमा अध्ययनरत बालबालिकाका लागि १० कोठे छात्रावास भवन निर्माणको काम गरिरहेका उनले बताए । ‘५० जना बालबालिका अट्ने भवन बनाउन लागेका छौं’, उनले भने, ‘तीन रोपनी जग्गा खरिद गरिसकेका छौं । एउटा भवन यो बर्षभित्र बनिसक्छ । अरु क्रमशः बनाउने हो ।’ ग्रीन इनर्जी कार्यक्रम अन्तर्गत वातावरणमैत्री चुल्हो निर्माणका लागि माहिलीले गाउँका १० जनालाई राजधानी लगेर तालिम दिएका छन् । उनीहरु फर्केपछि प्रत्येक घरमा वातावरणमैत्री चुल्हो बनाउने उनले बताए । उनीहरुको आगमनपछि गाउँको स्वास्थ्य अबस्था परिवर्तन भएको गाउँले बताउँछन् । ‘प्रत्येक बर्षजसो गाउँमा झाडापखाला फैलिन्थ्यो तर यो बर्ष फैलिएन’, गुरुङ भन्छन्, ‘यसमा पक्कै पनि फ्रान्सेलीहरुकै सरसफाइ अभियानको योगदान हो भन्ने लागेको छ ।’ भूकम्पले थिलोथिलो पारेका बेला पाँचसय घरलाई राहत बाँडेका फ्रान्सेली टोलीलाई गाउँमा पाउँदा लापुबाशी पनि खुशी हुने गरेका उनी बताउँछन् ।




