| आइतवार, कार्तिक २९, २०८३

हिउँले छोपियो उत्तरी गोरखा

गोरखाको उत्तरी भेग हिउँले छोपिएको छ । सोमबार बिहानै देखि चुमनुब्री गाउँपालिका का सबै गाउँ हिउँले ढाकिएको स्थानीयले बताएका छन् । ३८०० मिटर उचाइमा रहेको वडा नं. १ को साम्दो र सामागाउँ हिउँभित्रै रहेको स्थानीयको भनाइ छ । त्यस्तै ३४०० मिटर उचाइमा रहेको वडा नं. ७ को निले, छुले, लारगाउँ पनि हिउँभित्रै रहेको स्थानीय ङवाङ सोनामको भनाइ छ । वडा नं. २ को ल्हो, स्याला, हिनाङ, ल्ही गाउँ पुरै हिउँले ढाकेको अर्का स्थानीय छाङ लामा बताउँछन् । वडा नं. ४ को क्वाक, छाक, वडा नं. ५ को धोर्जुङ, वडा नं. ६ को चुम्चेत, यार्चो र वडा नं. ७ का छेकम, लामागाउँ, बुर्जी, पाङदुन, फुर्पे, ङाक्यो, लेरु, जोङ सबै गाउँ हिउँले ढाकिएको उनले बताए ।
हिउँ परेपछि सो क्षेत्र टेलिफोन सम्पर्क बिच्छेद भएको लोक्पाका ल्हाक्पा छिरिङ बताउँछन् । ‘कतैकतै वाइफाइ चलेकाले के कसो छ भनेर सोध्न पाइएको छ’ उनी भन्छन्, ‘नत्र सबै सञ्चार सम्पर्क बिच्छेद भएको छ ।’ हिमपातले गाउँलेहरु घरबाहिर निस्कन नसके पनि खुशी भने भएका छन् । ‘गहुँ, जौ राम्रो हुने भएकाले गाउँले खुशी भएका छन्’ उनले भने ‘गहुँ, जौ गोड्ने बेला भएको छ तर बाहिर निस्कन नसक्ने भएकाले गाउँलेहरु पशुचौपायाको रेखदेख गरेर बसेका छन् । पशुचौपायालाई हिउँ परेको बेला खुवाउन भनेर राखिएको सुकेको घाँस खुवाएर राखिएको छ ।’ तातोपानी, नून आदि खुवाएर पशुचौपायाको स्याहार गरिएको उनले बताए ।
धार्चे गाउँपालिकाका कतिपय ठाउँमा पनि हिमपात भएका छन् । उहिया, केरौंजा, काशिगाउँका लेकहरुमा हिउँले ढाकेको स्थानीयको भनाइ छ । हिमपात भएपछि घर बनाइनसकेका भूकम्प पीडितहरुको बिचल्ली भएको छ । लेकमा हिउँ परेपछि चिसोले विद्यार्थीको पढाइ पनि सकसपूर्ण भएको केरौंजा माविका शिक्षक रामहरि ढकालले बताए ।
लाप्राकमा पनि केहीबेर हिउँ परेको स्थानीय धनबहादुर गुरुङले बताए । हिउँ परेपछि स्थानीयबासी खुशी भएका छन् । ‘हिउँ पर्नुलाई गाउँमा लक्षिन मानिने चलन छ’ गुरुङले भने, ‘आज अलिअलि प¥यो । अब सिजन राम्रो हुन्छ भनेर गाउँले खुशी भएका छन् ।’

प्रतिक्रिया दिनुहोस्