
मनकामनाबाट गोरखा बजारसम्म नियमित बससेवा
अनुपमा खनाल : प्रसिद्ध धार्मिकस्थल मनकामनाबाट गोरखा बजारसम्म नियमित बससेवा सुरु भएको छ । सहिदलखन गाउँपालिकाका प्रमुख रमेश थापा मगरले नियमित बस सेवाको आइतबार बिहान उद्घाटन गरे ।
यसअघि सञ्चालित एकतर्फी बससेवालाई गाउँपालिकाको पहलमा यातायात ब्यवसायी समिति गोरखाले नियमित रुपमा दुईतर्फी बससेवा सुरु गरेको हो ।
नियमित बससेवा सुरु भएपछि गाउँपालिकाको केन्द्र घैरुङ र जिल्ला सदरमुकाम आवतजावत गर्न सहज हुने भन्दै मनकामना र आसपासका बासिन्दाले खुशी व्यक्त गरेका छन् ।
समितिले हरेकदिन मनकामनाबाट बिहान साँढे आठ बजे छुटेको बस तिकुरे भञ्ज्याङ, जुम्लीचौतारा, तीनमाने भञ्ज्याङ, घैरुङ, बुङ्कोट हुँदै गोरखा बजारसम्मको रुट चयार गरेको छ । त्यस्तै गोरखा सदरमुकामबाट पनि दिउँसो साँढे एकबजे सोही रुट हुँदै मनकामना का लागि बस छुट्ने यातायात ब्यबसायी समिति गोरखाका महासचिव अञ्जन खत्रीले जानकारी दिए ।
नियमित बससेवा सुभारम्भ समारोहमा बोल्दै मनकामना खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठले यसअघि एकदिन बिराएर गोरखाबजारसम्म बस छुट्ने गरेकोमा अबदेखि नियमित बस सञ्चालन हुने भएपछि स्थानीय खुसी भएका बताए । नयाँशक्ति पार्टीका दिनेश जोशीले स्थानीय सरकारले सुरक्षित यात्राका लागि सडक कालोपत्रे गर्नुपर्नेमा जोड दिए । मनकामनादेखि गोरखा बजारसम्म नियमित बस सेवा सञ्चालन हुँदा स्थानीय बाहेक मनकामना र कालिका दर्शन गर्न चाहने पर्यटकलाई पनि सजिलो हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले बताए । नियमित बससेवा सञ्चालन भएपछि समितिले सो रुटको भाडादर निर्धारण गरेको छ । मनकामनादेखि गोरखासम्म दुईसय बीस रुपैंया भाडा निर्धारण गरिएको महासचिव खत्रीले बताए । उनका अनुसार मनकामनादेखि तोरेनसम्म प्रतिब्यक्ति २०, जुम्ली चौतारासम्म ४०, डाडाँगाउँसम्म ५०, माथिल्लो गाउँसम्म ६०, तिनमानेसम्म ७५ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । यस्तै, मनकामनादेखि राना गाउँसम्म ८५, घैरुङ्गसम्म एकसय, खगीसम्म एकसय १०, नामजुङ सम्म एकसय २०, देउरालीसम्म एकसय ५०, गैरीचौतारासम्म एकसय ७०, खाप्दी भञ्ज्याङ्गसम्म एकसय ७५, मकैपुरसम्म १८०, समिचौतारा सम्म १८५, वनकाली १९०, ढुङगाडे २०० र गोरखासम्म २२० रुपैयाँ तिर्नुपर्ने गरी भाडा निर्धारण गरिएको खत्रीले बताए




